एलसी मार्जिनमा ब्याज दिन र कर्जाको ब्याज घटाउन नाडाको माग

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सवारी साधन तथा स्पेयर पार्ट्स आयातका लागि लेटर अफ क्रेडिट(एलसी) खोल्दा राखिने राख्नुपर्ने न्यूनतम मार्जिन रकममा ब्याज प्रदान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकसँग माग गरेको छ ।
विगतमा त्यस्तो न्युनतम मार्जिक ५ प्रतिशत राखे हुने व्यवस्था रहेकोमा केही समयअघि राष्ट्र बैंकले उक्त मार्जिन रकमको सीमा बढाएर ५० देखि शतप्रतिशतसम्म पु¥याएको छ । उक्त सीमा पहिलेकै कायम गर्न र संभव नभए त्यस्तो धरौटी राखिएको रकममा बैंक वित्तीय संस्थाले ब्याज प्रदान गर्ने व्यवस्था गर्न आग्रह गर्दै राष्ट्र बैंकलाई पत्र पठाएको नाडाले जनाएको छ ।
मार्जिन रकममा सीमा बढाउँदा त्यसले सवारी साधन तथा पार्टस्को मूल्य बढ्ने र उपभोक्तालाई मर्का पर्ने भन्दै नाडाले उक्त व्यवस्थाका लागि माग गरेको जनाएको छ ।
साथै नाडाले बैंक संस्थाले बढाएको ब्याजदर घटाउन समेत माग गरेको छ । पछिल्लो समय तरलता अभाव देखिएपछि त्यसालाई व्यवस्थापन गर्न बैंक वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याज बढाएका छन् । त्यस्तो व्याजमा पुनर्विचार गर्न राष्ट्र बैंक समक्ष नाडाले आग्रह गरेको हो ।
नाडाले भनेको छ– ‘वित्तीय निकायले ब्याजदर बढाउँदा कोरोना महामारीबाट भर्खर पुनरुत्थानतर्फ बढ्दै गरेको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई ठूलो मार पर्नेछ । उद्योग व्यवसायलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन सरकारबाट सहयोगको अपेक्षा भइरहेको वर्तमान समयमा यस्तो नीतिले थप समस्या मात्र ल्याउने नभई वर्तमान तरलता समस्याको समाधान पनि नहुने निश्चित छ । र यसले नेपालको अर्थतन्त्रलाई नै थप जोखिममा पार्ने देखिएकोले कर्जाको व्याजदर बढाउने नीतिमा पुर्नविचारका लागि नेपाल राष्ट्र बैङ्कसँग नाडाकोतर्फबाट अनुरोध गरिएको छ ।’









