अम्बानीलाई उछिनेर एसियाकै धनी बने अडानी

काठमाडौँ । भारतका उद्योगी गौतम अडानी एसियाकै धनी बनेका छन् । गौतम अडानीको कुल सम्पत्ति हाल ८८.५ अर्ब डलर पुगेको छ । गत वर्ष उनको सम्पत्ति करिब ४० अर्ब डलर रहेकोमा उद्योग व्यवसायमा भएको विस्तार र वृद्धिले उनको सम्पत्तिमा भारी वृद्धि भएको हो ।
ब्लुमबर्ग इन्डेक्सका अनुसार यसअघिका एसियाकै धनी भारतीय उद्योगी व्यवसायी मुकेश अम्बानीलाई उछिन्दै अडानी एसियाकै धनी भएका हुन् ।
इन्डेक्सका अनुसार उनी धनीको सूचीको १० औँ स्थानमा छन् भने अम्बानी ११ औँ स्थानमा पुगेका छन् । अम्बानीको कुल सम्पत्ति ८७.९ अर्ब डलर रहेको छ ।
गुजरातको अहमदाबादमा सामान्य परिवारमा जन्मिएको अडानीले गुजरात युनिभर्सिटीमा बिकम पढेका थिए । तर, पास नगरी उनी मुम्बई गएर हिराको पसलमा काम गर्न थाले । त्यसपछि उनले आफ्नै ब्रोकर फर्म खोलेर काम सुरु गरे ।
त्यसपछि अहमदाबाद फर्किएर उनले आफ्नो दाईको प्लास्टिक उद्योगमा काम गरेका थिए ।
त्यसपछि उनले पीभीसी पोलीवनाइल क्लोराइडको आयात र कारोबार सुरु गरे । त्यपछि उनी व्यापारमा लागे । पीभीसीको आयात व्यापार बढाउँदै गएपछि उनले सन् १९८८ मा अडानी ग्रुपको स्थापना गरे ।
सन् १९९१ मा उनले व्यापार तथा उद्यमको विविधिकरण गर्दै लगे । १९९५ मा मुन्द्रा पोर्ट सञ्चालनको अनुमति उनको कम्पनीले पायो ।
त्यसपछि उनले १९९६ मा अडानी पावर लिमिटेड स्थापना गरे । उक्त कम्पनीमार्फत ऊर्जा उत्पादन, प्रसारण तथा व्यापार सुरु भयो । नेपालमा निफ्राले अडानी ट्रान्समिशन कम्पनीसँग मिलेर ट्रान्समिशन लाइन बनाउनेतर्फ अध्ययन समेत सुरु गरेको छ ।
एयरपोर्ट सञ्चालन, ऊर्जा उत्पादन, कोइला खानी सञ्चालक, सीटी ग्यासको रिटेलरको काम समेत उनको समूहले गर्दै आएको छ ।
सिमेन्ट कारखाना, सडक निर्माण, रेलवे जस्ता क्षेत्रमा पनि उनले लगानी विस्तार गर्न लागिरहेका छन् । अडानीले कोइला, सौर्यलगायत नवीकरणीय ऊर्जा, बन्दरगाह, एयरपोर्ट जस्ता क्षेत्रमा लगानी गरेका छन् । कोभिडको महामारी बीच उनको सम्पत्ती बढेको देखिएको छ ।
त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिअनुसार लगानी विस्तार गर्न उनलाई मोदीको साथ रहेको समेत विश्लेषण हुने गरेको छ ।









