चुनावको मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । मंगलबार बसेको सत्तारुढ दलहरूको बैठकमा भएको छलफलअनुसार निर्वाचनको मिति तय गर्नेबारे आज थप छलफल हुन लागेको हो ।

सत्तारुढ दलहरूको बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । उनकाअनुसार बैठकमा आगामी स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको चुनाव वैशाखमा गर्ने गरी मिति तय गर्न सरकारलाई आग्रह गर्दै आएको छ ।

तर सत्तारुढ दलहरू सबै तहको चुनाव एकैपटक गर्ने मनस्थितिमा देखिएका छन् । स्थानीय तह निर्वाचन ऐनमा सरकारले दुईभन्दा बढी चरणमा चुनाव गर्न सक्ने तर पहिलो चरणको मितिलाई चुनाव सम्पन्न भएको मानिने उल्लेख छ । ऐनले गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि अर्को चुनाव हुने भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन अनुसार, जति चरणमा निर्वाचन भए पनि पहिलो चरणको चुनाव भएको ७ दिनपछि कार्यकाल सुरु भएको मानिने भएकाले पालिकाका पदाधिकारीको कार्यकाल आउँदो जेठ ५ मा सकिने निर्वाचन आयोगको व्याख्या छ । २०७४ मा वैशाख ३१, असार १४ र असोज २ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *