मदिरा व्यवसायी अभिषेक र अमित अग्रवाल डेढ अर्ब ऋण लिएर फरार

काठमाडौँ । मदिरा व्यवसाय गर्दै आएको ग्रीन लाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल बैंक, वित्तीय संस्था र व्यक्तिको झण्डै डेढ अर्ब रुपैयाँ ऋण लिएर फरार भएका छन् । सञ्चालक द्वयले ऋण नतिरी परिवारसहित भागेको जानकारी पाएपछि कान्तिपथ र दरवारमार्गस्थित ग्रिनलाइनको शोरुममा ऋण दिने बैंकहरुले सूचना टाँसेका छन् ।
विदेशबाट आयात गरिएका महँगा(एकै बाेतलकाे ६ लाखसम्म पर्ने) मदिरा नेपालमा बिक्री वितरण गर्दै आएको उक्त कम्पनीले एक सातादेखि शोरुम बन्द गरेपछि ऋणी बैंकहरुले उनीहरु फरार भएको चाल पाएका थिए । त्यपछि हाल उक्त कम्पनीसँग ऋण उठाउनु पर्ने नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले सूचना टाँस गरेका हुन् ।
अग्रवाल द्वयले इन्भेष्टमेन्ट र एभरेष्टसहित नेपालका ५ ओटा बाणिज्य बैंकबाट १ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको स्रोतले बताएको छ । स्राेतकाे अनुसार उनीहरूले इन्भेष्टमेन्टसँग २५ कराेड र एभरेष्टसँग २२ कराेड रूपैयाँ ऋण लिएका छन् ।
जनकपुर स्थायी घर भएका अग्रवाल दाजुभाइले झण्डै २३ वर्षअघिदेखि ग्रिनलाइन कम्पनीमार्फत मदिरा बिक्री गर्दै आएका थिए । कम्पनीकै नाममा बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट समेत ऋण लिएका उनीहरुले कोभिडपछि भने ऋण तिर्न नसकेको स्रोतको दाबी छ ।
ऋण तिर्न नसकेपछि अभिषेक अग्रवाल २ महिनाअघिदेखि काठमाडौँबाट भारत गएको स्रोतले बताएको छ । अमित अग्रवालसमेत परिवारसहित साताअघि भारत गएपछि अहिले परिवारसहित कोही पनि सम्पर्कमा नरहेको स्रोतको भनाइ छ ।
बैंकहरुले कारोबारकै आधारमा धितोले नधान्ने गरी ग्रीनलाइनलाई ऋण दिएको बताइएको छ ।
कोभिडका कारण नगद प्रवाहमा समस्या भएपछि उनीहरुले विभिन्न व्यक्ति, सहकारी र मिटर व्याजीसँग समेत ऋण लिएका छन् । तर, कति ऋण तिर्न बाँकी छ भन्ने नखुले पनि सबै गरी झण्डै डेढ अर्ब ऋण रहेकाे दाबी गरिएकाे छ ।
ग्रिनलाइनले नेपालका कतिपय मदिरा उत्पादक कम्पनी तथा विदेशी मदिरा आयातकर्ताको समेत पैसा तिर्न बाँकी छ ।
अग्रवाल दाजुभाइले तेस्रो मुलुकमा बसाई नै सर्ने गरी नेपालबाट रकम पठाइसकेपछि परिवारसहित फरार भएको स्रोतको दाबी छ ।









