बर्खामा खेर जाने ५०० मेगावाट बिजुली नेपेक्सले मनिकरण भारतलाई बेच्ने सम्झौता

विद्युत् व्यापारको अनुमति माग्दै नेपाल पावर एक्सचेन्ज लिमिटेड(नेपेक्स), अनुमति दिने तयारीमा सरकार

काठमाडौँ । नेपालमा खपत हुन नसकेको बिजुली भारतीय बजारमा बिक्री गर्न सोमबार एक सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र नेपाल उद्योग परिसंघले सोमबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’मा यस्तो सम्झौता भएको हो ।

नेपालका निजी क्षेत्रले उत्पादन गरेको तथा खपत हुन नसकेको विद्युत् भारतीय ऊर्जा बजारमा बिक्री गर्न उक्त सम्झौता भएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुकै पहलमा हालसालै स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको मनिकरण पावर लिमिटेडबीच विद्युत् व्यापारका लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपेक्सका कार्यकारी निर्देशक आशिष गर्ग र मनिकरणका कार्यकारी निर्देशक नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार नेपालमा बर्खायाममा खेर जाने ५ सय मेगावाट बिजुली नेपेक्ससँग खरिद गरेर मनिकरणले भारतीय बजारमा बिक्री गर्ने छ । यसका लागि नेपेक्सले नेपाल विद्युत् प्राधिकरणसँग खरिद गर्ने गरी सहकार्य गर्ने जनाएको छ ।

नेपालमा उत्पादन भएको विद्युत्को खरिद बिक्री सम्झौता (पीपीए)सँग पहिले नै हुने भएकोले त्यस्तो विद्युत् बिक्री गर्न प्राधिकरणसँग खरिद गर्नुपर्ने हुन्छ ।

सम्झौता अनुसार नेपालमा पीपीए रोकिएकोले अब १० देखि २५ वर्षसम्मका लागि नेपालका निजी क्षेत्रले उत्पादन गर्ने विद्युत् सिधै मनिकरणलाई दिने गरी मनिकरणमार्फत भारतीय खरिदकर्तासँग पीपीए गर्ने विषय पनि सम्झौतामा समेटिएको छ ।

नेपाल पावर एक्सचेन्ज लिमिटेडमा मनिकरणको समेत १५ प्रतिशत स्वामित्व रहने उक्त अबसरमा जानकारी दिइएको छ । सम्झौता अनुसार मनिकरणले पावर एक्सचेन्ज लिमिटेडको क्षमता अभिवृद्धि, क्षेत्रीय विद्युत् व्यापारबारे प्रशिक्षण, विद्युत् संरचनाहरुको व्यवस्थापन, नेपालकै आन्तरिक बजारमा समेत विद्युत् व्यापारका लागि सक्षम बनाउन सघाउने छ ।

तर, निजी क्षेत्र वा निजी क्षेत्रले स्थापना गर्ने कुनै कम्पनीले नेपालको आन्तरिक तथा बाह्य बजारमा सिधै उपभोत्ता वा एजेन्सीलाई बिजुली बिक्री गर्न पाउने नीतिगत व्यवस्था भने गरिएको छ । त्यसो हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमार्फत नेपेक्सले विद्युत् व्यापार गर्ने अनुमति माग गरिरहेको छ ।

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन मन्त्रालयले कार्यविधि बनाइरहेको सोही कार्यक्रममा उपस्थित ऊर्जा मन्त्री पम्फा भुसालले बताएकी छन् । ‘नेपाल पावर एक्सचेन्जलाई अनुमति दिने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘देशभित्र विद्युत खपत समेत बढाउनु पर्छ । प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिटभन्दा माथि पर्याउनु पर्छ ।’

कार्यक्रममा मनिकरणले भारतमा विद्युत् व्यापारका साथै, कोइला, प्राकृतिक ग्यासको समेत व्यापार गर्दै आएको छ । यस कम्पनीले आफ्ना उपभोक्तालाई भारतमा ४० हजार मेगावाट विद्युत् उपलब्ध गराउने काम गर्दै आएको छ । यही कम्पनीसँग झैण्डै २ हजार ५ सय मेगावाट विद्युत् खरिद गर्ने औद्योगिक ग्राहक रहेको कम्पनीका कार्यकारी निर्देशक नवजित सिंह कल्सीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =