स्वच्छ ऊर्जा प्रयोग गर्न ऊर्जामन्त्रीकाे आग्रह

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन आफूले ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने नीति लिइएको बताएकी छन् । ‘विद्युत स्वच्छ ऊर्जा हो, यसलाई जीवन व्याबहारमा सहज बनाउँदै लैजानुपर्छ’, उनले भनिन् ।

नेपाल सौर्य विद्युत उत्पादक सङ्घको २१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति आफूले अगाडि बढाएको बताए । उनले भनिन्, ‘विद्युत् खपत हुँदा परम्परागत ऊर्जा खपतमा कमी आइ स्वच्छ ऊर्जाको प्रयोगमा बढोत्तरी हुन्छ ।’

प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र छोटो समयमा उत्पादन गर्न सकिने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत सहयोगी हुने मन्त्री भुसालको तर्क छ । सौर्य ऊर्जा उत्पादन दिनको समयमा मात्रै हुने भए पनि पछिल्लो समय विकास भएका अवधारणाले त्यसलाई झनै सहज बनाउँदै लगेको उनले बताइन् ।

‘पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’को अवधारणा विकास भएको छ,’ उनले भनिन्, ‘ यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।’

नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोतहरू भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौति पनि बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो । परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याइन् ।

नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उनले नेपालले पनि नवीकरणीय ऊर्जा प्रयोगको नीतिलाई अबलम्बन गर्दै जानुपर्ने आवश्यकता रहेको बताइन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६)मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवद्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गरे ।

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रीत ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उनले १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताए । उनले भनिन्, ‘वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यत सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।’ हाल ऊर्जा प्रणालीमा करिब २१ सय मेगावाट विद्युत जडित क्षमता छ ।

दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । उनका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत खरिद बिक्री सम्झौता(पीपीए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ ।

सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीहरूको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पुर्याउन र जनताको जीवनस्तर माथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताइन् ।

छ वटा प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उनले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताइन् ।

सौर्य विद्युत उत्पादकहरूले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =