भुक्तानी नदिने ५ चिनी मिलको जग्गा र बैंक खाता रोकिने, उखुकाे मूल्य बुधबार ताेकिने

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु खरिद गरेबापतको बक्यौता रकम उखु किसानलाई भुक्तानी नदिने ५ उद्योगको जग्गा र बैंक खाता रोक्का गर्न गर्न पत्राचार गरेको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा मंगलबार भएको छलफलमा मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले मंगलबार यस्तो जानकारी गराएका हुन् ।
याे पनि– अझै ताेकिएन उखुको समर्थन मूल्य : ६८० माग्दै किसान, प्रस्ताव तयार गर्दै मन्त्रालय, उद्योगी मौन
सचिव भट्टराईका अनुसार हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा सुगर मिलको बैंक खाता तथा जग्गा रोक्का गर्न अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए ।
उक्त ५ ओटा चिनि मिलले उखु किसानको ८ करोड ७० लाख रुपैयाँको भुक्तानी गर्न बाँकी रहेको सचिव भट्टराईले बताए ।
लेखा समितिको छलफल कार्यक्रममा डाकिएका सचिव भट्टराईले चालू वर्षका लागि उखुको समर्थन मूल्य तोक्न ढिलो भएको बताए । भुक्तानी नपाउने र मूल्य समेत ढिलो तोकिने अवस्थाले नेपालमा उखु उत्पादन घट्दै जाने क्रममा रहेको उनलेब ताए ।
‘किसान प्रताडित हुँदै जाँदा आत्मनिर्भर हुँदै गएको खेती परनिर्भरतातर्फ धकेलिएको र उद्योग संख्या पनि २९ बाट घटेर ८ वटामा झरेको छ,’ सचिव भट्टराईले भने ।
कृषि सचिव गोविन्द शर्माले कृषि मन्त्रालयले उखुको समर्थन मूल्य प्रस्ताव गरेर मन्त्रिपरिषद्मा पठाएको र यसको निर्णय बुधबार हुने बताए ।
राजश्व सचिव कृष्णहरी पुस्करले चिनीमा लगाइने भ्याट हटाउन विगतदेखि नै छलफल भइरहे पनि निर्णय भने नभएको बताए ।









