पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पू“जीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन्। तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पू“जीगत खर्च मात्र बढ्न सके पनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतबार राखेको स्वागत एवं बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको बेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।

निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भए पनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको खुलाए ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अघि बढ्ने तरखरमा रहेको बेला पुन कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।

‘यतिबेला अन्तराष्ट्रिय उडानहरु बन्द भएका, देशहरु पुन लकडाउनतर्फ गैरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ, अध्यक्ष गोल्छाले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटव्याक हुने खतरामा छ ।’

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो संजालको कार्यगत एकता, सहकार्य, ओनरशीप आवश्यक रहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गरे । अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृति नै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए । सानो ठाउंमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिँदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटकभित्र्याउने गरेको भन्दै भक्तपुरसँग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुझाव दिए ।

स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकेको पनि स्पष्ट पारे । महासंघको सञ्जालभित्रका सबै सदस्यको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताए । उद्योग व्यवसाय विकासका लागि अवरोध वनेका ऐन कानूनको संशोधन, पुनरलेखनका लागि महासंघले सरकारसँग निरन्तर लवी गरिरहेको पनि उनले जानकारी गराए ।

महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रसिद्ध रहेको पनि चर्चा गरे ।

कुनै समय कृषिका लागि अव्वल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुुपर्ने धारणा राखे । सो अवसरमा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनको पनि उपस्थिति थियो ।

संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसँग संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहिरहने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =