बिजुली नभएर बत्ती गएको होइन, ह्वात्तै बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले विद्युत् उपलब्धताको समस्या नभई वितरणमा देखिएको प्राविधिक समस्याका कारण बेला बेला विद्युत् सेवा अवरोध भएको बताएका छन् । देशभर चिसो बढेसँगै चार दिन यता काठमाडौं उपत्यकामा बेला–बेला बत्ती जाने समस्या देखिएको छ ।

यो प्राविधिक समस्या भएकाे उनको भनाइ छ । प्राधिकरणमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी घिसिङले यस्तो बताएका हुन् । प्राविधिक समस्या जहाँ पनि हुने उनले बताए । जापान अमेरिका जस्ता देशमा पनि बत्ती जाने भन्दै उनले प्राधिकरणको बचाउन गरेका छन् ।

‘अहिले विद्युत्को उपलब्धतामा समस्या होइन,’ उनले भने, ‘वितरणमा भने समस्या देखिएको हो । वितरण लाइनका ट्रान्सफर्मरमा लोड बढ्दा समस्या देखिएको हो ।’

उनका अनुसार हाल विद्युत् प्राधिकरणको जडित वितरण प्रणालीमा साँझको समयमा उच्चतम माग वा खपत १७ सय मेगावाटको हाराहारीमा पुगेको छ । उच्च माग बिहान १५ सय मेगावाटको हाराहारीमा छ । तर, अन्य सामान्य बेलामा भने १२ सय ५० मेगावाटको हाराहारीमा मात्रै छ । खास गरी साँझ र बिहान मानिसले चिसोका कारण तातो बनाउने विद्युतीय उपकरण ज्यादा प्रयोग गर्दा ट्रान्सफर्मरमा बढी लोड हुने र लोड नधान्दा ट्रिपिङ हुने समस्या देखिएको उनको भनाइ छ ।

‘अहिले फिडरमा समस्या आएको होइन,’ उनले भने, ‘खाली वितरण ट्रान्सफर्मरमा समस्या आएको हो ।’

अहिले प्राधिकरणले माथिल्लो तामाकोसी जस्ता ठूला आयोजनालाई पनि पानी स्टोर गरी उच्च माग हुने समयमा मात्रै चलाएको छ । त्यस्तै कुलेखानी जस्ता आयोजनालाई पनि पिकिङको समयमा बढी चलाउने गरिएको छ । यसले गर्दा प्राधिरणले दिउँसो मात्रै भारतबाट बिजुली आयात गर्ने गरेको र पिक आवरमा आफ्नै उत्पादनले धानेकाे समेत उनले बताए ।

चिसो बढेपछि आम उपभोत्ताले चलाउने विद्युतीय उकपरणले थप्ने माग धान्न उपत्यकामा ३ हजार ७ सय ३८ ट्रान्सफर्मर रहेको उनले बताए । तर, यी ट्रान्सफर्मरले १८० किलोवाट भन्दा बढी विद्युत्को प्रवाह धान्दैनन् । केही फिडरमा समेत लोड बढी हुँदा आगो लागेको उनले उनले बताए । त्यसरी आगो लाग्दा भने मर्मत नहुँदासम्म लाइन जाने समस्या देखिएको उनले बताए ।

चिसो बढेसँग ह्वात्तै विद्युतको माग बढेको र फिडरका ट्रान्सफर्मरमा समस्या आउँदा दर्जन ट्रान्सफर्मरमा एकै पटक समस्या आउने भएकोले मर्मत तथा परिवर्तन गर्न समय लाग्ने भएको उनले बताए । देशभर २ हजार ट्रान्सफर्मर थप गरिसकेको र अझै थप गर्ने क्रममा रहेको उनले बताए ।

‘अहिलेको मुख्य समस्या पानी परेपछि लोड बढेको हो,’ उनले भने, ‘माग बढी भयो भने ट्रान्सफर्मरमा समस्या हुन्छ। हामीले त्यसलाई समाधान गर्छौं। सिंहरदबारमा एउटा ट्रान्सफर्मर जलेको छ। केही घरमा लगिएको केबलमा समेत आगलागी भएको छ।’

प्राधिकरणले अहिले धमाधम ट्रान्सफर्मर फेरिरहेको र १५० वटा जति फेरिसकेको उनले बताए । ‘यस्तो समस्या आउँदा ४/५ घण्टा विद्युत आपूर्तिमा समस्या हुन्छ,’ उनले भने, ‘बाहिर भनिए जस्तो २३ दिन बत्ती नआएको होइन, केही घण्टामात्र समस्या भएको हो।’

अहिले धेरै माग भएको क्षेत्रहरू इमाडोल, बानेश्वर, रत्नपार्क, कालधारा, महाराजगञ्ज जस्ता ठाउँमा धेरै समस्या आएको छ । ती ठाउँकाे ट्रान्सफर्मर फेर्ने काम चलिरहेकाे र साँझसम्म पूरा हुने समेत उनले बताए ।

ट्रान्सफर्मर थप्न स्थानीयको अवरोध

ट्रान्सफर्मर थप्ने कार्यमा स्थानीयको अवरोधले पनि समस्या निम्त्याएको उनले बताए ।

‘स्थानीयले हाम्रो क्षेत्रमा वा हाम्रो घरअगाडि ट्रान्सफर्मर नराख्नु वा नथप्नु भन्छन्,’ उनले भने, ‘यो समस्या सुल्झाउन वडा कार्यालयसँग समन्वय गरेका छौँ । आम उपभोक्तालाई आग्रह छ– ट्रान्सफर्मर राखेर केही हुन्न। त्यसका लागि सहयोग गर्न मेरो आग्रह छ। आज बेलुकासम्म सबै समस्या समाधान हुन्छ। ’

केही समयपछि दुई हजार मेगावाट डिमान्ड आए पनि सप्लाइ गर्न सक्नेगरी काम गरिरहेको उनले बताए । ‘मातातीर्थमा, चोभारमा सबस्टेसन टेकु, फुटुङ, मुलपानी, चाँगुनारायण, बालकुमारीमा सबस्टेसन निर्माण गर्दैछौँ,’ उनले भने, ‘यो टेन्डर भएर काम भइरहेको छ।’

उनका अनुसार एडीबी र जाइकाको सहयोगमा तार भूमिगत गर्ने काम भइरहेको छ। यो क्रममा केही फिडरमा समस्या आएको हो । सडक, खानेपानीसँगको समन्वय हुन नसक्दा सोचेको गतीमा काम हुन नसकेको उनले बताए ।

काठमाडौँ उपत्यकामा हाल बिहान र बेलुकाको उच्च माग ५०० मेगावाट छ । यो माग धान्न सब स्टेशनहरु चाहिने र सब स्टेशन बन्न २ वर्ष लाग्ने उनले बताए । ट्रान्सफर्मरमा आएको समस्या भने १ घण्टामै समाधान हुने उनले बताए । आगामी वर्ष यस्तो समस्या नहुने समेत उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =