पुनरूत्थानमा परिचालित हुन वस्तुगत संघहरुलाई अध्यक्ष गाेल्छाको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीको सम्मानमा सोमबार महासंघ सचिवालयमा एक स्वागत एवं वधाई कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा एयरलाइन्स अपरेटर्स, कोरोगेटेड बक्स उत्पादक, कुरियर सेवा, फुुटवेयर म्यानुुफ्याक्चर्र्स, नाडा अटोमोबाइल्स डिलर्स, कृषि मेशीनरी व्यवसायी, फ्रेट फरवार्डर्स, जडीवूटी उत्पादक, उनी फेल्ट उत्पादक तथा निर्यातकलगायत संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले खादा लगाई नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरी बधाई दिएका छन् ।

कार्यक्रममा अध्यक्ष गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजाल नै परिचालित हुनुपर्ने बेला आएको बताउँदै सदस्य वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशील हुन आग्रह गरे ।

अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पूरा गर्न महासंघले आफना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए ।

महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भए पनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको बताए ।

कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तराष्ट्रिय विमानस्थल र वस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे ।

फुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू संचालनमा ल्याउनुपर्ने सुझाव राखे ।

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिले समस्या ल्याएको बताए ।
नेपाल कृषि मेशीनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिंचाईको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेकाले यी सवै स्वदेशी उत्पादनहरूलाई नै प्रवद्र्धन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव राखे ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने, एयर कार्गोलाई सहज बनाउनुपर्ने, कार्गो बोक्ने गाडीलाई पहिलो प्राथमिकता राखेर व्यवहार गर्नुपर्ने, फ्रेटमा अग्रिम टिडीएसको व्यवस्था अव्यवहारिक, सिपिङ लाइनमा पनि समस्या भएकाले समाधानमा पहल हुनुपर्ने सुझाव राखे ।

नेपाल जडीवूटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले स्थायी सचिवालय नभएका सदस्य वस्तुगत संघको सचिवालय व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताए

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठले आयात निर्यात बीचको दूरी घताउने पर्ने बताए ।

कार्यक्रममा वस्तुगत परिषदका उपसभापति अरनिको राजभण्डारी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू,परिषद्का सल्लाहकार, सदस्यहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =