‘देशको आर्थिक अवस्था कहालीलाग्दो अवस्थामा’

विराटनगर । बैँकको ब्याजदरको विरोधमा व्यापारी तथा उद्योगीहरू खुलेरै लाग्न थालेका छन् । केही दिनअघि विराटनगरमा रहेको मोरङ व्यापार संघको वार्षिक साधारण सभामा बैंक सञ्चालकहरू राणाकालीन साहु महाजन भएको आरोप लगाएका व्यापारीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैंकको ब्याजदर नघटाए आन्दोन गर्ने चेतवनी दिए । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा पत्रकार सम्मेलन गर्दै देशको आर्थिक अवस्था कहालीलाग्दो अवस्थामा पुगेको बताएको हो ।
सरकारको पुजीगत खर्च विगत ५ महिनामा ६ दशमलव ४६ प्रतिशतमात्र भएको अवस्था सरकारबाटै जानकारीमा आएकाले देशको कहालीलाग्दो आर्थिक अवस्था रहेको जानकारी दिएको हो । यस्तो अवस्थामा मुलुकमा नागरिकहरूको जीविकोपार्जन गर्न आवश्यक सामग्री उत्पादन गर्ने उद्योग व्यवसायीहरूको लगानी कारोबारमा प्रत्यक्ष असर गरेको छ,’ उद्योग परिसंघले भनेको छ, ‘अहिलेको अवस्थामा वाणिज्य बैंकहरूले पटक पटक ब्याजदरमा अत्यधिक वृद्धि गरी उद्योग व्यवसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
गतकात्तिक महिनाको १ गतेदेखि लागू हुनेगरी सबै बैंकहरूले निक्षेपमा नयाँ ब्याजदर लागू गरी अत्यधिक र असामान्य तरिकाबाट ब्याजदर वृद्धि गरेको संघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।
‘नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको प्रथम चौमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरी गर्दा निक्षेप संकलन र परिचालनको तुलनामा कर्जा विस्तार अत्यधिक बढेकाले त्यसको असर तरलतामा चाप बढेको स्वीकार गरिएको छ,’ घिमिरेले पत्रकार सम्मेलनमा भने, ‘विगतमा निक्षेप बढाउने निउमा अत्यन्तै गैरजिम्मेवार भएर बैंकहरूले निक्षेपको ब्याजदर वृद्धि गरे पनि त्यसको नतिजा खासै नभएको प्रमाणित भइसकेको छ ।’
बैंकहरूले थोरै निक्षेप संकलनका लागि यसको तुलनामा अत्यधिक प्रभाव हुने कर्जामा समेत असर हुनेगरी ब्याज वृद्धिको कारणले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने उद्योगीहरूलाई समस्यामा पार्ने काम भएको पत्रकार सम्मेलनमा बताए ।
उद्योग परिसंघ प्रदेश १ का प्रमुख सल्लाहकार तथा उद्योगी महेश जाजुले बैंकहरूले लगानी गर्न छाडेको आरोप लगाए । ‘अहिले बैंकहरूले ब्याज त बढाएका छन् नै‚’ उनले भने‚ ‘त्योभन्दा ठुलो कुरा त बैंकहरूले लगानी नै गर्न छाडेको छ ।’ बैंकले लगानी नै नगर्ने हो भने त्यस्तो अवस्थामा जति पनि ब्याज तिर्नु बाध्यता अउन सक्ने भएकाले यो विषयमा सरकारले गम्भीर रुपमा लिनुपर्नेमा जाजुको जोड छ ।
अर्का उद्योगी पवनकुमार सारडाले राज्यको नीति लगानीमैत्री नहुँदा उद्योग व्यवसाय धरासायी हुने अवस्था आएको बताए । फलामे छडमा पाँचवटा उद्यागलाई मात्र राज्यले सुविधा दिँदा अन्य उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताए । ‘बंगलादेश आजभन्दा ५ वर्षअघि हाम्रो देशबाट सामान निर्यात हुने अवस्थामा थियो, अहिले उसले हामीलाई सामान पठाउन सक्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यो अवस्था आउनुको कारण भनेको राज्यको नीति हो ।’
अहिले निर्यातमुलक उद्योगहरूलाई २० प्रतिशत अनुदान दिएको छ । बंगलादेशले उद्योगहरूलाई २० प्रतिशत अनुदान दिएको छ, नेपालमा उद्योग टाँट पल्टाउने नीति दिइएको भन्दै उनले सरकारको आलोचना गरे ।
बंगलादेश पुगेर फर्किएको नेपाल उद्योग परिसंघको टोलीले बंगलादेशमा कृषि र पर्यटनको प्रवर्द्धन तथा समन्वय गर्ने सहमति गरेको जनाएको छ । विद्युत प्रसारण लाइनको बारेमा पनि सहमति भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । ‘परिसंघले मुलकका बैंकहरू राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताएको छ । बैंकहरू पनि व्यापारीजस्तो नाफा कमाउने उद्देश्यले प्रेरित भएका छन्,’ संघले भनेको छ, ‘यिनका गतिविधिहरू नाफा कमाउने व्यापारी, पुराना साहु महाजनजस्तो पुरातनवादी भएका छन् ।’









