शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब घाटामा, घट्यो विदेशी विनिमय सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म शोधानान्तर घाटा १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा देशको शोधनान्तर स्थिति १ खर्ब १० अर्बले शोधानान्तर बचतमा थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिनासम्मको तथ्यांकमा आधारित देशको वित्तीय अवस्था प्रतिवेदनले यसतो देखाएको हो ।
निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति तथा संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।
त्यस्तै, कात्तिकसम्ममा देशका चालु खाता रु. २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई रु.२ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले बढेर रु. ६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु. ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ३ अर्ब ७५ करोड रहेको थियो ।
विदेशी विनियमन सञ्चिति घट्यो, ७.९ महिनाकाे मात्रै आयात धान्ने
२०७८ असार मसान्तमा रु. १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.० प्रतिशतले कमी आई २०७८ कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७८ ७९ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ ।
निर्यातकाे तुलनामा आयात अस्वभाविक रूपमा बढ्दा विदेशी विनिमय सञ्चिति समेत कम हुँदै गएकाे हाे ।









