को बन्ला क्रिकेटको मुख्य प्रशिक्षक‚ को को परे अन्तिम पाँचमा ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले मूख्य प्रशिक्षकका लागि आवेदन दिएका ६० जनामध्ये पाँच जनासँग अन्तरवार्ता गरेको छ । क्यानको मुख्य प्रशिक्षक छनोट समितिले बुधबार राति पाँच जनासँग भर्चुअल अन्तरवार्ता लिएको हो ।
अन्तर्वार्तापछि क्यानको पहिलो रोजाइमा भारतका मोन्टी देशाई हुने सम्भावना बढेको छ । क्यान स्रोतले भन्यो‚ ‘सम्भवतः देशाई अबका प्रशिक्षक हुनेछन् । उनीसँग तलब सुविधाको कुरा मिलेको खण्डमा उनीसँग सम्झौता गरिने छ ।’

उनी आईसीसीका प्रतिनिधि पनि रहने र आईसीसीले फाइनल अनुमति दिनुपर्ने भएकाले आईसीसीसँगको सम्बन्ध राम्रो भएका र लबिङ गर्न सक्ने व्यक्तिको सम्भावना बढी रहनसक्नेछ । यस्तोमा देशाई नै सर्वाधिक अघि रहने स्रोतहरू बताउँछन् ।

क्याननिकट स्रोतका अनुसार ‘देशाईले अन्तर्वार्तामा पनि राम्रो प्रस्तुति गरेका छन् । अब उनी नहुने एउटै कारण भनेको मासिक तलबको टुंगोले मात्रै हो ।’ देशाईसँग कुरा नमिलेको खण्डमा नेपालकै पूर्वप्रशिक्षक रहिसकेका पुबुदु दशानायके रोजाइमा पर्नेछन् ।

नेपाललाई आफ्नो प्रशिक्षण कालमा धेरै अन्तरराष्ट्रिय सफलता दिलाएका तथा टी-२० विश्वकपसम्म पुर्यारएकाले पुबुदुको दाबेदारी बलियो छ । त्यसो त पुबुदुले अघिल्लो पटक पनि नेपालको प्रशिक्षक बन्न आवेदन दिएका थिए । उक्त समयमा अनुभवी डेभ ह्वाटमोरलाई क्यानले प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो । तर उनले करार अवधी बाँकी हुँदै राजीनामा दिएपछि नेपालले नयाँ मुख्य प्रशिक्षकको खोजी गरिरहेको छ ।

क्यानसँगको छलफलमा राष्ट्रिय टिमका खेलाडीहरूले भने पुबुदुलाई प्रशिक्षकका रुपमा ल्याउन सुझाव दिएका थिए ।

नेपालको प्रशिक्षक बन्न आवेदन दिएका र अन्तिम पाँचमा पर्न सफल अन्य तीन जनामा न्युजिल्यान्डका ग्रान्ट ब्राडवर्न श्रीलंकाका अशंखा गुरुसिंहा र रुवान काल्पेज रहेको क्यान स्रोतले जनाएको छ । अब क्यानले पाँचै जनालाई सुचिकृत गरेर आईसीसीलाई जानकारी पठाउनेछ । त्यसैकारण पनि क्यानमा लबिङ गर्न सक्ने उम्मेदवारको सम्भावना उच्च हुने स्रोत बताउँछ ।

देशाई हाल वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षक छन् । देशाईको सम्झौता अर्को महिना सकिँदैछ । ब्याटिङमा अब्बल प्रशिक्षकका रुपमा रहेका उनले नेपालको कमजोर ब्याटिङ लाइनअप सुधार्न महत्वपूर्ण भूमिका खेल्ने क्यानको बुझाइ छ । उनलाई यसअघि पनि प्रशिक्षक बनाउनुपर्ने चर्चा नेपाली क्रिकेटवृत्तमा चलेको थियो ।

सन् २०१५ मा नेपाल क्रिकेट संघ निलम्बन भएका बेला देशाई आयरल्यान्ड र स्कटल्यान्डमा भएको टी-ट्वेन्टी विश्वकप छनोटमा नेपाली टिमको सल्लाहकार भएर आएका थिए । त्यस्तै दुई वर्षअघि पनि यू-१९ टिमको ब्याटिङ सल्लाहकारका रुपमा पनि उनलाई आईसीसीले नेपाल पठाएको थियो ।

यस्तै शीर्ष ५ मा रहेका अर्का प्रशिक्षक श्रीलंकाका पूर्वखेलाडी अशंखा गुरुसिंहाले ११ वर्ष क्रिकेट खेलेका थिए‚ जसमा उनले श्रीलंकाका लागि ११ टेस्ट र एक सय ४७ एकदिवसीय क्रिकेट खेले । उनी १९९६ मा श्रीलंकाले विश्वकप जित्दा टिमका सदस्य पनि थिए । उक्त विश्वकपको फाइनलमा उनले प्रहार गरेको शतक अहिले पनि सम्झना गर्ने गरिन्छ ।

सन् २०१७ मा श्रीलंकाली टिमको म्यानेजरसमेत रहेका उनले सन् २०२० को अन्तिममा नाइजेरिया क्रिकेट टिमको मूख्य प्रशिक्षक रहेर काम गरेका छन् । प्रशिक्षकको ‘ए लेभल’ कोर्स पूरा गरेका उनले अस्ट्रेलियाको स्टेट लेभलमा पनि काम गरेका छन् । उनीपछि अस्ट्रेलियाली नागरिक बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *