जब रमेश प्रसाईँले छोरी स्पर्श गरे…
काठमाडौँ । प्रखरवक्ता तथा टेलिभिजन कार्यक्रम सञ्चालक रमेश प्रसाईँ दम्पत्तिकी छोरी जन्मिएकी छन् । रमेशकी श्रीमती नन्दाले मङ्गलबार अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
रमेशले छोरीलाई पहिलो पटक स्पर्श गर्दाको खुसी शब्दमा बयान गर्न नसकिने बताए । उनले यस्तो विषय महसुसमात्रै गर्न सकिने बताउँदै त्यस्तो अभूतपूर्व अनुभूति यही क्षणमा मात्रै गर्न पाएको बताए । ‘कोही मानिस पहिलोपटक बाबु बन्दैछ भने त्यो क्षणको अनुभूति उसले मात्र अनुभूत गर्न सक्छ, र त्यो अनुभूति पनि मानिसअनुसार भिन्न हुन्छ‚’ उनले मकालुखबरसँग भने ।
छोरीलाई यो वा त्यो बनाउँछु भन्नेबारे आफूहरूले केही नसोचेको र अहिले नै सन्तान भविष्यमा के बन्ला भनेर सोच्ने समय नभएको समेत बताए । अभिभावक भएको हैसियतले पृष्ठपोषण आफूले गर्न सके पनि उनको क्षमता उनी मै निर्भर हुने रमेशको भनाइ छ ।
प्रसाईँ दृष्टिविहीन हुन् भने नन्दा अत्यन्तै नजिकको वस्तुमात्र देख्न सक्छिन् । छोरी जन्मिएको खबरसँगै रमेश र नन्दाका प्रशंसक र शुभचिन्तक खुशी भएका छन् भने उनीहरुलाई धेरैले बधाई दिइरहेका छन् ।