दोलखाका ७ पत्रकार प्रहरी नियन्त्रणमा

काठमाडौँ । दोलखाका ७ जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि अलपत्र परेको साँघु-जिरी सडक यथाशीघ्र निर्माण सम्पन्न गर्न माग गर्दै लामोसाँघु–जिरी सडक सुधार आयोजना कार्यालयमा तालाबन्दी गर्न पुगेका उनीहरूलाई पक्राउ गरी नियन्त्रणमा राखेको पक्राउ परेका मध्येका एक पत्रकार श्याम खतिवडाले बताए ।

‘मुडे-चरिकोट सडक लामो समयदेखि अलपत्र छ,’ उनले भने, ‘नागरिक समाज भनेर लामोसमयदेखि संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थियौँ । शनिबार भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री, सचिव र सडक विभागका महानिर्देशकको फोटो सवारी साधनमा टाँसेका थियौँ । यति गर्दा पनि सडक निर्माणमा आयोजना कार्यालय तत्पर नदेखिएपछि आइतबार आयोजनाको कार्यालयमा तालाबन्दी गर्न गयौँ । ताला लगाएपछि प्रहरीले हामीलाई पक्राउ गरेर राखेको छ ।’

पक्राउ पर्नेमा खतिवडासहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के, पत्रकारहरु गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चरिकोटमा राखिएको छ ।

यसैबीच उक्त घटनाको एशोसिएट प्रदेश समितिले विरोध जनाएको छ । राजधानी काठमाडौँसँग जोड्ने उक्त सडक ६ वर्षदेखि अलपत्र पारिएको र सडक निर्माण गर्न दबाब दिने पत्रकारलाई पक्राउ गर्नु निन्दनीय रहेको महासंघ एशोसिएट प्रदेश समितिले जनाएको छ । यथाशीघ्र पत्रकारहरुलाई रिहा गर्न पनि समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *