बागमती प्रदेश : जम्कट्टेल र लामा बने मन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार थप दुईजना मन्त्री थप्दै ६ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् ।
आज मन्त्री बन्नेहरूमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र कांग्रेसका नीमा लामा छन् । उनीहरूले क्रमशः आर्थिक मामिला तथा योजना र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीद्वयले आजै नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । त्यहाँ मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।
अब मन्त्रालय फुटाएर भागबन्डा मिलाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिने एक नेताले बताए । मन्त्रिपरिषद् विस्तारले पूर्णता नपाएसम्म भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री पाण्डेले नै सम्हाल्नेछन् ।









