युवा टीमलाई सम्हालिने चुनौती

काठमाडौँ । यू-२३ एसिया कप फुटबल छनोटमा नेपाल आज इरानसँग खेल्दैछ । एसियाको पावर हाउसका रुपमा चिनिने इरानसँग नेपाल स्वभाविक रुपमा कमजोर प्रतिद्वन्द्वी हो । तर नेपालका लागि यो एक अवसरका रुपमा समेत रहनेछ ।

ताजिकिस्तानस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलमा नेपाल कम्तीमा इरानलाई बराबरीमा रोक्न चाहन्छ । त्यसो त नेपालका लागि इरानमात्र होइन‚ समूहका अन्य तीनै टोली पनि बलिया छन् । समूहमा तुलनात्मक रुपमा कमजोर नेपाललाई नै मानिएको हो । त्यसैले कम्तीमा यो पटक एसिया कप छनोटको सम्भावना कायम राख्न नेपाली खेलाडीका लागि आजको खेल निकै अर्थपूर्ण हुन्छ ।

नेपालले इरानपछि ताजिकिस्तान र लेबनानसँग खेल्नुपर्नेछ । यी सबै एसियाका बलिया टीममा पर्छन् । छनोटको समूह बीमा रहेको नेपालका लागि प्रतियोगिता कठिन छ । किनभने नेपाललाई कुनै एक वा दुई जितले मात्र पुग्दैन । छनोटका लागि तालिकाको शीर्ष स्थानमा रहनुपर्नेछ । दोस्रो स्थानमा रहे उत्कृष्ट दोस्रो बन्न सक्नुपर्नेछ । दुवै अवसर नेपालका लागि कठीन छन् ।

सन् २०१५ मा यू-२३ एसिया कप छनोटमा नै नेपालले इरानको सामना गरेको थियो । जतिबेला नेपाल ५-० ले स्तब्ध बन्यो । यसको बदला लिने मौका भने नेपालसँग छ । त्यसैले बलियो आत्मविश्वासका साथमा मैदान उत्रँदै इरानलाई रोक्नु नेपालको मुख्य चुनौती हुनेछ ।

May be an image of 6 people, people playing sports, people standing and grass

प्रशिक्षक बालगोपाल महर्जनको भनाइ मान्ने हो भने नेपाल नतिजाकै लागि खेल्नेछ । महर्जन भन्छन्‚ ‘विपक्षीहरू बलिया र गुणस्तरीय नतिजा निकाल्न सक्ने टीम हुन् । त्यसैले उनीहरूको वास्तविकतालाई स्वीकारेर राम्रो नतिजा निकाल्न मैदानमा उत्रन्छौँ ।’ उनले आफ्नो टीमलाई कमजोर आँके नतिजा फरक हुन सक्ने चेतावनी पनि दिएका छन् । तर इरान छनोटको बलियो दाबेदार भएकाले उसले सुरूवाती खेललाई नै अंक जोड्ने अवसरका रुपमा लिने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *