भुक्तानी गरेको ८ महिनापछि बल्ल आइपुग्यो १० लाख डोज खोप

काठमाडौँ । सरकारले अग्रिम भुक्तानी गरेको झण्डै आठ महिनापछि कोरोना विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । अग्रिम भुक्तानी गरे पनि खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ ।

सम्झौताअनुसार आठ महिनाअगाडि नै आउनुपर्ने भए पनि भारतले १० लाख पठाएर १० लाख डोज खोप रोकेको थियो । ५ फागुन ०७७ मा सरकार र सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदका लागि सम्झौता भएको थियो ।

सरकारको पटक–पटकको पहलपछि शनिबार बाँकी १० लाख खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । सम्झौताकै समयमा सरकारले चार डलरका दरले अग्रिम भुक्तानी गरेको थियो । भारतबाट आएका दश लाख डोज खोप दसैँपछि लगाउने सरकारको तयारी छ ।

९ माघ ०७७ मा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएको थियो । भारतबाट दश लाख अनुदान, दश लाख खरिदको, नेपाली सेनालाई एक लाख सहयोग र कोभ्यास सुविधामार्फत तीन लाख ४८ हजार मात्रा खोप आएको थियो ।

तर, खरिद गरेको खोप आउन ढिला भएपछि सरकारलले अन्य देशसँग सहयोग मागेको थियो । जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेका खोप दिएको थियो ।

त्यस्तै, भुटानबाट दुई लाख ३० हजार मात्रा कोभिसिल्ड खोप प्राप्त भएको थियो । अहिलेसम्म पूर्ण खोप लगाउने ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेका छन् । पहिलो डोज लगाएका संख्या ८१ लाख २७ हजार दुई सय ६२ जना पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *