चाडबाड लक्षित बजार अनुगमन, लेबलिङ नभएका सामान बजारमा

विराटनगर । लामो समयसम्म बजार अनुगमन हुन नसकेको इटहरीमा चाडबाड लक्षित बजार अनुगमन शुरु भएको छ । पहिलो दिनको अनुगमनमा लेबलिङ नगरिएका बस्तु तथा सामाग्री बजारमा भेटिएको छ ।
पाँच वटा पसलमा लेबलिङ नगरी समान विक्री गरेको पाइएको तथा तीन वटा पसलको नवीकरण नभएको पाइएकोले त्यस्ता बस्तु बिक्री नगर्न र तत्काल व्यवसाय नवीकरण गर्न निर्देशन दिइएको इटहरी उपमहानगरपालिकाले जनाएको छ । शुक्रबार इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको थियो ।
इटहरी उपमहानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको टोलीले बजार अनुगमन गरेको हो ।
बेलाबेला हुने बजार अनुगमनले बजारमा हुने विकृति घट्ने तथा व्यवसायी सचेत हुने भएकोले बजार अनुगमनलाई निरन्तरता दिइने इटहरी उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख नोवलकिशोर भट्टराईले जानकारी दिए ।









