अन्तरवार्ता

आफ्नै अस्तित्व बोक्ने सामग्रीलाई बेवास्ता र बहिष्कार गरिएको छ : पण्डित

काठमाडौँ । अनेकौँ आरोह अवरोह पार गर्दै आएको नेपाली चलचित्र जगत अझै पनि सोचेजस्तो गरी अघि बढ्न नसकेको भनेर आलोचना हुने गरेको छ । मनोज पण्डित नेपाली चलचित्रमा फरक धार प्रयोग र नेपालीपन सहितका चलचित्र निर्माणमा रुचि राख्ने निर्माता निर्देशकको नाम हो । वधशाला, दासढुंगा, छाया लगायत चलचित्र निर्माण गरेका उनको चलचित्र ‘एक’ निर्माण सम्पन्न भएको छ । नेपालका अलि फरक चलचित्रकर्मीका मुरा चिनिएका पण्डितसँग मकालुखबरकर्मी दिक्षा कट्टेलले गरेको कुराकानी

नेपाली चलचित्रको उद्योगको कुरा गर्दा हुनुपर्ने जस्तो गरी विकसित हुन नसकेको टिप्पणी भइरहन्छ, तपाईँलाई के लाग्छ ? नेपाली चलचित्र उद्योगको विकासबारे तपाईँको धारणा के हो ?
नेपाली चलचित्र क्षेत्रमा धेरै प्रगति भएको स्थिति छैन । नेपाली चलचित्रको आधार ‘बम्बैया’ मनोविज्ञान हो । नेपाली चलचित्रको चेतनाको जग, नेपाली चलचित्रको संरचनाको जग र नेपाली चलचित्रको आवरणको जग बलिउडसँग जोडिएको थियो । उतैबाट आएका व्यक्तिले चलचित्र बनाउने, बम्बई घुमेर आउने व्यक्तिले चलचित्र बनाउने गर्दै जाँदा यसको प्रभावले नेपाली चलचित्र जगतलाई नराम्रो सँग गाजेको थियो ।

२०५२/५३ साल पछि भने नेपालको सम्बन्ध विश्वस्तरमा नै बिस्तार हुन थालेपछि, विश्व चलचित्र जगतको विषयमा जानकारी लिन थालेपछि भने केही परिवर्तन भयो । हिन्दी चलचित्रको प्रभावले नेपाली चलचित्रको अस्तित्व गुम्न थालेपछि भने आफ्नो अस्तित्वको खोजी गर्न थालियो । केही अध्ययनशील व्यक्तिहरू जस्तो नवीन सुब्बा, छिरिङ रितार शेर्पा लगायतले बम्बैया प्रणालीको साटो चलचित्रमा आफ्नोपन स्थापित गर्न सुरुवात गरे । पत्रकारिताबाट आएको, अध्ययनशील, विश्व चलचित्र इतिहास बुझेको र आफ्नो अस्तित्वको खोजी गर्ने युवा चलचित्रकर्मीले फरक चलचित्र निर्माणको सुरुवात गरे । सुरुवाती चरणमा यस्ता चलचित्रको कुनै स्थान नै थिएन । तर पनि प्रयत्न जारी रहँदा म पनि २०५५/५६ साल तिर यो बिचार सँग जोडिएर अघि बढ्न थालेँ ।

नेपाली अस्तित्व र मनोविज्ञानलाई प्रतिनिधित्व गरेको चलचित्र बन्नुपर्छ, कथ्य र कथन दुवै आफ्नो हुनुपर्छ भन्दै सैद्धान्तिक अवधारणा बोक्ने व्यक्तिहरूको बिचारले बिस्तारै स्थान पाउँदै थियो । तर त्यहीबेला नेपालमा गृहयुद्ध सुरु भयो । यसले पुरानो बम्बैया प्रणाली र नयाँ विचारधारा दुवैलाई प्रभाव पार्‍यो । केही समय नेपाली चलचित्र ठप्प नै हुन पुग्यो । सिर्जनाका भोका व्यक्तिहरूले यो समयमा डकुमेन्ट्री बनाएर आफ्नो कलाको भोक र कला माथिको प्रयोगको रहरलाई सार्थक भने पारिरहेका थिए ।

२०६२/६३को जनआन्दोलन पछि भने गृहयुद्ध अघि सङ्घर्षरत चलचित्रको नयाँ प्रयोग गरिरहेका चलचित्रले स्थान पाउन थाले । यस्तोमा म लगायत यो सोचका चलचित्रकर्मी स्थापित हुन थाल्यौँ । यस पछि मैले वधशाला, छाया, दासढुंगा जस्ता चलचित्र बनाएँ । बलिउडको सूत्रलाई रिजेक्ट गरेर (नकारेर) विश्वमा चलेको सूत्र प्रयोग गरी नेपालीपनको चलचित्र निर्माणको क्रम बढ्यो । नेपाली चलचित्रमा फरक धार सुरु भयो ।

यो क्रम सँगै डिजिटल प्रविधिले चलचित्रकर्मीलाई सुविधा दिँदै गर्दा अर्को धारको रूपमा म्युजिक भिडिओ र टेलिभिजनबाट आएका समूहले चलचित्र निर्माण गर्न थाले । टेलिभिजन र सहज डिजिटल प्रविधिको कारण चलचित्र निर्माण प्रवेश पनि सहज बन्दै गएको थियो । यस्तो स्थितिले कथात्मकताको स्थितिलाई भुल्न थाल्यो । त्यसपछि गम्भीरतापूर्वक चलचित्रमा काम गरिरहेको एउटा धार छ भने भिन्न-भिन्न क्षेत्रबाट आएका व्यक्तिहरूको अर्को धार समानान्तर रूपमा अगाडी बढिरहेको छ । चर्चाकै कुरा गर्ने हो भने टेलिभिजन र म्युजिक भिडिओ पश्चात् चलचित्रमा आएको धार नै चर्चित छ । तर गम्भीर रूपमा नेपाली विषय उठाएका चलचित्र बनाउने धार समेत स्थापित भएको अवस्था भने छ ।

अझै पनि नेपालीपन बोल्ने चलचित्र औँलामा गन्न सकिने मात्र छन् । यसको कारण के हो ?
चलचित्र बनिरहेका छन् । पशुपति प्रसाद, वधशाला, नुमाफुंग जस्ता चलचित्र नेपाली तत्त्व र विषय उठाएर नै बनेका चलचित्र हुन् । यस्तोमा केही हदसम्म गुणस्तरीय चलचित्र बनेका पनि छन् । तर नेपाली समाजमा चलचित्र हलमा दर्शकको उपस्थितिलाई नै सफलता र सफलताको मापक ठान्दा भने यस्ता चलचित्र पूर्ण व्यावसायिक चलचित्रको ओझेलमा परेका हुन् । म गर्व गर्छु मैले बनाउने चलचित्र नितान्त नेपाली चलचित्र हुन् । तर बजारको आङ्कलनमा र भिड जम्मा गर्ने विषयमा नितान्त नेपाली चलचित्र केही पछि नै छन् । यस्ता चलचित्रले एकै दिनमा हलमा दर्शकको भिड लगाउन सक्दैनन् । भिडको लागि अझै पनि बलिउडमा प्रयोग गरिने तत्त्व प्रयोग गरेका चलचित्र नै अगाडी छन् ।

चलचित्र निर्माण लगानीसँग पनि जोडिएको विषय हो, बजारको समस्या भए पछि चलचित्र निर्माणमा असर गर्ने भयो नि त फेरि ?
नेपालको बजार दलाल पुँजीवादी प्रणाली अनुसार हुर्किरहेको छ । नेपाल उत्पादनमूलक पुँजीवादी प्रणाली नभएको देश हो । यहाँ अन्य स्थानमा उत्पादित सामाग्रीको लेभल परिवर्तन गरेर उपभोग गर्ने गरिन्छ । आफ्नो बस्तु उत्पादन गर्ने प्रणाली नै छैन । त्यसैले हाम्रो बजार संरचनाको चेतनाले धेरै असर गरेको छ । यदि यो पुँजीवादी बजार प्रणाली हुन्थ्यो भने यसले सबैभन्दा धेरै आफ्नो सामान उत्पादन गर्न ध्यान दिन्थ्यो । आफ्नो सामाग्री विश्व बजारमा वितरण गर्न ध्यान दिन्थ्यो जसरी बलिउडले गरिरहेको छ । हाम्रोमा खपत त छ, तर आफ्नो पहिचानको, सिर्जनात्मक उत्पादन भने छैन । जसलाई हामी हाम्रो भन्न सक्छौँ त्यस्ता यस्ता चलचित्र यही आयातित बजारले छोपिदिएको छ । बजारले आफ्नो सामग्रीलाई रणनीतिक रूपले बहिस्कार गर्न थाल्छ भने चलचित्र बनाउन जोस जाँगर कम पक्कै हुन्छ । यसो भन्दैमा चलचित्र बनाउन रोकिएको छैन । बजारले साथ नदिँदा नदिँदै पनि नेपाली चलचित्र बनाउने प्रयत्न निरन्तर छ । यस्तो काम त्यस्ता युवा समूहबाट भएको छ जसले चलचित्रलाई व्यवसाय भन्दा माथि देशको पहिचान सँग जोडेर राजनीतिक र सामाजिक सांस्कृतिक महत्त्व बुझेका चलचित्र निर्माण गरिरहेका छन् । चलचित्रलाई व्यवसाय मात्रै मान्ने व्यक्तिहरूले सिर्फ दलाली गरिरहेका छन् । कथाको संरचना, तत्त्व आयातित ल्याएर प्रयोग गरेका छन् जुन नेपाली चलचित्र बजारको दुखद पक्ष हो । यो बजारले आफ्नै अस्तित्व बोक्ने सामाग्रीलाई बेवास्ता र बहिस्कार गरेको छ ।

चलचित्र निर्माणमा प्रविधिको पनि ठूलो हात हुन्छ, नेपालमा प्रविधिको परिवर्तनको प्रभाव कस्तो परेको छ ?
प्रविधिले मानिसको काममा सहजता प्रदान गरेको छ । पुराना चलचित्र सत्ताधारीबाट चलचित्र नयाँ पुस्तामा प्रवेश गर्नुको कारण प्रविधि नै हो । म जस्तो सामान्य मान्छेको हातमा चलचित्र मेकिंगको पहुँच पुगेको छ । तर प्रविधि साधन मात्रै हो । महत्त्वपूर्ण कुरा चेतना र विवेक हो । हाम्रो विवेकको निर्माणमा हामी दासत्वपूर्ण चेतनामै केन्द्रित छौ । हामी स्वतन्त्र केन्द्रित चेतना भएको समाजको तत्त्व होइनौँ । हामी समाधान उन्मुख समाजको व्यक्ति होइनौँ । हामी समस्यामा, व्यथामा रमाउने समाजको उत्पादन हौँ । चलचित्रमा पनि व्यथा देखाइन्छ, कथा बनाइँदैन । निराशावादी, अक्रियाशील र यथास्थितिवादी समाजको उपजको रूपमा हाम्रो चेतनाको विकास अत्यन्त न्यून र कमजोर जगमा टिकेको छ ।

कलाकार र कलाकारितामा आएको परिवर्तनको अनुभव चाहिँ यहाँको कस्तो छ ?
कलाकारिताको सम्भावनाको ढोका प्रशस्त खुलेका छन् । पहिला सीमित क्षेत्र भएकोमा अहिले सहज भएको छ । अहिले फिल्म निर्मातामा विविधता आए सँगै कलाकारितामा पनि विविधता आएको छ ।  आफ्नो भूगोल र परम्परा अनुसारका कलाकार पाउन थालिएको छ । दयाहांग राई जस्ता पात्र कलाकार भएर मुख्य भूमिकामा आउनुको कारण हामी जस्तो मान्छे फिल्म मेकिंगमा आउनु हो । हामी कसरी आयौ त भन्दा प्रविधिको कारण नै हो । पछिल्लो समय प्रविधिले सर्जकदेखि कलाकारहरूमा खुल्ला प्रतिस्पर्धा दिएको छ । एक क्षणमा प्रविधिले अवसर दियो । तर हामी एक ठाउँमा स्थिर भयौँ । यसबाट अगाडी बढ्न सकेनाैँ । नेपाली चलचित्र क्षेत्र जाम भएर बसेको छ । सृजनशीलता, नैतिकताको क्षेत्रमा जाम भएको छ । दुर्भाग्य यो जामको ‘ब्लकेज’ खोल्न जरुरी छ ।

तपाईँले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘एक’ को कुरा गरौँ, यो कसरी भिन्न चलचित्र ?
यो चलचित्रले नेपालमा बसेका व्यक्ति तथा देशको नै भाग्य निर्माण गर्ने पक्षमा केन्द्रित भएर विषय उठान गरेको छ । चलचित्र तब मात्रै देशको हुन्छ जब चलचित्रको मुख्य तत्त्व, द्वन्द्व देशभित्र भएको समस्या, भूगोल, मानिसको समस्या आत्मसाथ गरेको हुन्छ । यो चलचित्र देशको सबैभन्दा सम्भावित खतरा माथि बनेको छ । यसले हाम्रो अस्तित्वलाई परिचित गराउँछ । यसमा प्रमुख पात्रको उद्देश्य नेपाली अस्तित्वलाई बलियो बनाउने छ ।  हरेक नेपालीले आफ्नो अस्तित्व खोज्न मद्दत पुग्ने भएकोले यो नितान्त नेपाली चलचित्र हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *