काभ्रेका पाँचखाल र महाभारतमा कम बेरुजु

काभ्रे । काभ्रेका १३ पालिकामध्ये पाँचखाल र महाभारतमा कम बेरुजु पाइएको छ । आर्थिक वर्ष २०७६/०७७ मा महाभारतमा ०.४३ र पाँचखालमा ०.८६ प्रतिशत बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको कार्यालयले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँचखालमा १ अर्ब ३८ करोड २८ लाख ७२ हजारको लेखापरीक्षण गर्दा १ करोड १९ लाख ३५ हजार (०.८६ प्रतिशत) तथा महाभारत गाउँपालिकामा ६७ करोड ७९ लाख १२ हजारको लेखापरीक्षण गर्दा २९ लाख ४० हजार (०.४३ प्रतिशत) बेरुजु देखिएको हो ।

बागमती प्रदेशका १ सय १९ पालिकामध्ये बेरुजु कम भएका पालिकामा महाभारत गाउँपालिका दोस्रो र पाँचखाल नगरपालिका सातौँ स्थानमा छन् । प्रतिवेदनका अनुसार नगरपालिकाहरूमा सबैभन्दा बढी बेरुजु मण्डनदेउपुर नगरपालिका र गाउँपालिकाहरूमा सबैभन्दा बढी तेमाल गाउँपालिकामा देखिएको छ । मण्डनदेउपुर नगरपालिकामा १ अर्ब ४६ करोड ६८ लाख ३ हजारको लेखापरीक्षण हुँदा ८ करोड ७७ हजार (५.४६ प्रतिशत) तथा तेमाल गाउँपालिकामा ९५ करोड २७ लाख २७ हजारको लेखापरीक्षण गर्दा ९ करोड २४ लाख ४ हजार (९.७० प्रतिशत) बेरुजु देखिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिकामा १ अर्ब ५९ करोड ११ लाख ८६ हजारको लेखा परिक्षण गर्दा १ करोड ५७ लाख ७६ हजार (०.९९%), बनेपा नगरपालिकामा १ अर्ब ६८ करोड ४ लाख ९४ हजारको लेखा परीक्षण गर्दा ३ करोड ८३ लाख ५२ हजार (२.२८%), नमोबुद्ध नगरपालिकामा १ अर्ब ३४ करोड ६४ लाख ६२ हजारको लेखा परीक्षण गर्दा ३ करोड ८० लाख ८४ हजार (२.८३%) र पनौती नगरपालिकामा २ अर्ब ३ करोड ११ लाख ७४ हजारको लेखापरीक्षण गर्दा ७ करोड ३५ लाख ९२ हजार (३.६२%) रकम बेरुजु देखिएको छ ।

गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ अर्ब ३५ करोड ४३ लाख ७९ हजारको लेखापरीक्षण गर्दा २ करोड ५४ लाख ४० हजार (१.८८%), खानीखोला गाउँपालिकामा ६० करोड ४० लाख ७२ हजारको लेखापरीक्षण गर्दा २ करोड ६ हजार (३.३१%), चौरी देउराली गाउँपालिकामा १ अर्ब ४ करोड ४१ लाख २६ हजारको लेखा परीक्षण गर्दा ५ करोड ४७ लाख ५७ हजार (५.२४%), भुम्लु गाउँपालिकामा ९५ करोड ५३ लाख ६५ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८४ लाख ३६ हजार (६.१२%), बेथानचोक गाउँपालिकामा ७४ करोड ९७ लाख ९६ हजारको लेखापरीक्षण गर्दा ५ करोड ९७ लाख ५१ हजार (७.९७%) रकम बेरुजु देखिएको छ ।

बागमती प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी ११९ वटा पालिका छन् । यीमध्ये रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ६ लाख ४१ हजार (०.३० प्रतिशत) र दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढी १२ करोड ४८ लाख ४२ हजार (१४.४ प्रतिशत) बेरुजु देखाएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्ष २०७५/०७६ मा काभ्रे जिल्लाको बेरुजु ६७ करोड ७५ लाख ६७ हजार थियो । सबैभन्दा बढी पनौती नगरपालिकाको १ अर्ब ७५ करोड ६७ लाख ५ हजारको लेखापरीक्षणमा १६ करोड ५७ लाख ५६ हजार (९.४४%) प्रतिशत बेरुजु थियो भने दोस्रो नम्बरमा खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको लेखापरीक्षणमा ३ करोड ७६ लाख ३१ हजार (७.०१%) बेरुजु थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =