ललितपुर महानगरले भन्यो- जात्रा र पर्वमा भिडभाड नगर्नू

काठमाडाैँ । ललितपुर महानगरपालिकाले धेरै जना एकै ठाउँमा जम्मा भएर जात्रा मनाउँदा कोभिड संक्रमण फैलन सक्ने भन्दै महानगरभित्र मनाइने जात्रा र अन्य चाडपर्वहरू प्रतिकात्मक रुपमा मनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा सरोकारवालाहरूको सहभागितामा बसेको बैठकले उक्त निर्णय गर्दै नागरिकलाई यस्तो आग्रह गरेको हो ।
नगरप्रमुख महर्जनले महानगरभित्र मनाइने सबै प्रकार जात्राहरू पुजारी र सीमित संख्यामा सहभागी भएर मनाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘प्रतिकात्मक रुपमा नित्य पूजा गरी सम्पन्न गर्ने निर्णय गरिएको छ ।’ नगरप्रमुख महर्जनले कोभिडबाट नागरिकलाई जोगाउन महानगरले यो निर्णय हो । नगरप्रमुख महर्जनले भने, ‘कोभिड सकिएपछि हामी धूमधामसँग मनाउने छौं ।’
श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, (मत्यां जात्रा), भिन्द्यो जात्रा, कुम्भेश्वर मेला लगायतका जात्रा पर्वहरू क्रमश: सुरू हुँदैछन् । नगरप्रमुख महर्जनले कोभिड नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै घरबाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्न अनुरोध गरे ।









