लकडाउनका कारण अप्ठेरोमा परेका उद्योगीहरू विकल्प खोज्दै

विराटनगर । लकडाउनको समस्या झेल्दै आएका व्यवसायी अहिले व्यवस्थापकीय क्षमता विकास कार्यक्रममा जुटेका छन् । मोरङ सुनसरी औद्योगिक करिडोरका प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने काम शुरु भएको हो ।

उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको सहयकार्यमा कोरोनाको महामारीका कारण उद्योग व्यवसायलगायतका क्षेत्रले भोग्नुपरेको व्यवसायिक समस्यालाई दृष्टिगत गरी संकटको समयमा व्यापारको पुनःरणनीतीकरण गर्न उक्त उत्प्रेरणामूलक कार्यक्रम भएको हो ।

विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफ्नो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै दीर्घकालीन रणनीति तर्जुमा गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको संगठनका अध्यक्ष सुयशराज प्याकुरेलले बताए ।

उद्योगी सौरभ सारडाले आर्थिक विकासका सूत्रधारका रुपमा रहेका उद्योगीहरूले वर्तमान समयमा सामना गर्नुपरिरहेको आन्तरिक र बाह्य चुनौतिलाई मध्यनजर गरी आयोजना गरेको यस कार्यक्रमले उद्योगीहरुलाई आगामी दिनमा आफ्नो कार्यदिशा, योजना र रणनीति विकासमा सहयोग पुग्ने बताए ।

कोरोना महामारीले विश्वविख्यात मल्टिनेसनल कम्पनीहरूलाई समेत आफ्नो व्यवसायिक रणनीतिलाई पुनः समीक्षा गर्न बाध्य बनाएको उदाहरण प्रस्तुत गर्दै उद्योगीहरूले अबका दिनमा एक व्यवसायिक योजनामा मात्र सीमित नभई अन्य विकल्पलाई समेत आत्मसात् गर्नुपर्ने कुरा छलफलमा उठेको छ ।

उद्योगीहरुले सकारात्मक सोचका साथ नयाँ दृष्टिकोणबाट आगामी दिनमा गुणस्तरीयतालाई ध्यानमा राखी आक्रामक बजारीकरणको माध्यमबाट खर्च न्यूनीकरण गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नुपर्ने उपायहरूका सम्बन्धमा छलफल भएको सारडाले बताए ।

नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ का अध्यक्ष भीम घिमिरेले कोभिडका कारण रणभुल्लमा रहेका उद्योगी व्यवसायीलाई नयाँ विकल्प र अवसर खोज्नुपर्ने बेला आएको बताए । कार्यक्रम उद्योगी व्यवसायी, बैंकर्स, प्रध्यापक र विभिन्न उद्योग प्रतिष्ठानका व्यवस्थापकहरू थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =