टिप्पणी

पुरानै पारामा देउवा !

सरकारसँगको आशा अर्थात् आकाशको फल ?

काठमाडौं । पाँचौं पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीपरिषदमा  एक राज्यमन्त्री थपेका छन् । आफूबाहेक चार मन्त्री लिएर सरकार हाँकिरहेका देउवाले २ हप्तामा  बल्ल एक राज्यमन्त्री थप गर्दै ‘ढिलो भइरहेपनि राम्रै होला कि भन्ने आशा गरिरहेका हरुलाई एकैसाथ निराश र छक्क पारिदिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठको चयन भएसँगै, पाँचाैँपटक देशको सर्वाेच्च कार्यकारीको पदमा पुग्दै गर्दा देउवा अब नयाँ पारामा अघि बढ्लान् कि भन्ने आशामा तुषाारापात भएको छ ।

कोभिड महामारीका बीच स्वास्थ्य मन्त्रालय नेतृत्वविहीन नराख्न बढ्दो विरोध र क्षमतावान् नेतालाई स्वास्थ्यमन्त्री बनाउन चर्को दबाबलाई बेवास्ता गर्दै देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राख्दै राज्यमन्त्री मात्र नियुक्त गरेका हुन् ।

यो निर्णयले स्वास्थ्यजस्तो अति नै आवश्यक र अहिले त सर्वाधिक संवेदनशील मन्त्रालयका काम जिम्मेवारी र यसको दूरगामी महत्वका बारेमा देउवा गम्भीर छैनन् भन्ने सन्देश दिएको छ । सांसद रहेका जोसुकै व्यक्तिलाई पनि मन्त्री बनाउन सकिने भएपनि अहिलेको अवस्थामा एकातिर पूर्णमन्त्री नबनाइनु र अर्कातिर स्वास्थ्यको कुनै अनुभव नभएका र व्यापारी पृष्ठभूमिका व्यक्तिलाई राज्यमन्त्री बनाइनु सर्वथा गलत कुरा हो । देउवा गम्भीर भएका भए यो महामारीमा स्वास्थ्यको कुनै अनुभव नै नभएका व्यापारीलाई मन्त्री बनाएर खेलाँची गर्ने थिएनन् ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ शैक्षिक क्षेत्रका व्यापारी मात्र होइनन्, विभिन्न बैंक तथा वित्तीय संस्था, अस्पताल, कृषि फर्म र जलविद्युत् कम्पनीमा लगानी भएका अर्बपति हुन् । उनी समानुपातिक कोटामा मन्त्री बन्दादेखि नै पार्टीलाई आर्थिक सहयोग गरेर सांसद बनेको आरोप लागेका व्यक्ति हुन् ।

श्रेष्ठ राज्यमन्त्री बनाउन योग्य व्यक्ति हुन् कि होइनन् भन्ने कुराभन्दा पनि यो महाव्याधीको संकट र स्वास्थ्य क्षेत्रको पुनःसंरचनाको प्रसंग उठिरहेका बेला श्रेष्ठलाई राज्यमन्त्री बनाइनुले प्रधानमन्त्री देउवा यो गम्भीर विषयलाई अझै पनि गम्भीरतापूर्वक लिएका छैनन् भन्ने चाहिँ प्रष्ट भएको छ ।

के यो बेलामा स्वास्थ्य मन्त्रालय राज्यमन्त्रीकै भरमा चलाउने निर्णय ठिक हो त ? अनि स्वास्थ्य राज्यमन्त्री बन्न कांग्रेसमा उमेश श्रेष्ठभन्दा योग्य र क्षमतावान् मान्छे अर्को थिएन त ? यो कुरा प्रधान हो । यसअघिका स्वास्थ्य मन्त्रीहरुको असक्षमताका कारण पनि सक्षम र अनुभवी व्यक्तिलाई मन्त्रालयको जिम्मा दिनुपर्छ भन्ने माग र दबाब बढीरहेका बेला देउवाले असान्दर्भिक व्यक्तिलाई मन्त्रालयको जिम्मा दिएका छन् ।

भर्खरै गण्डकी प्रदेश सरकारको मन्त्रीमा कांग्रेसका एक पुराना र प्रतिबद्ध नेतालाई मन्त्री बन्ने तयारी गर्न लगाएर अर्का व्यवसायबाट राजनीतिमा हाम फालेका व्यक्तिलाई मन्त्री बनाएको कांग्रेस र त्यसका सभापति देउवा स्वयम्ले त्यसपछि आम नागरिकले गरेको खबरदारी, शुभचिन्तकको सुझाव र आफू नै विवेकसमेतलाई बन्देज गरी अर्का अर्बपतिलाई मन्त्री बनाएका छन् । यो जब्बरपना नेपाली राजनीति र सरकारको सदियौँदेखिको जब्बरपना हो ।

पाँचौं पटक देशको प्रधानमन्त्री हुने दुर्लभ अवसर पाएका देउवाले यसपटक विगतका कमीकमजोरी हटाउलान् र राम्रो काम गरेर केही आशा जगाउलान् अनि आम नागरिकको स्याब्बासी पाउलान् कि भन्ने झिनो आशामा तुसारापात गरेका छन् । यसले देउवा ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ कै आफ्नो सनातनी बाटोमा हिँड्ने तरखर गरिरहेको स्पष्ट हुन्छ । सच्चिने मौका उपयोग गर्ने कि चुक्ने ? निर्णय गर्ने जिम्मा फेरि पनि प्रधानमन्त्री देउवाकै ।

यो पनि
तैबिसेक मात्र !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =