पार्टीमा नीति‚ सिद्धान्त र सामूहिक नेतृत्वको छलफल जरुरी : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेतृ अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट आन्दोलनभित्र नीति‚ सिद्धान्त र सामूहिक नेतृत्वको छलफलको अभावले कम्युनिस्ट आन्दोलन धराशयी बनेकी बताएकी छन् ।

पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रवचन कार्यक्रममा नेतृ शाक्यले नीति‚ सिद्धान्त र सामूहिक नेतृत्वबारे छलफलको अभावमा आन्दोलन धराशयी बनेको बताएकी हुन् ।

‘त्यस्तो अवस्थामा आएर पनि कम्युनिस्ट आन्दोलन किन गिर्‍यो भन्ने कुरा सोचनीय छ । सत्तावादी र व्यक्तिवादी सोच हुनाले आन्दोलन गिर्‍यो । संसद विघटन बदर भएर यो महत्वपूर्ण उपलब्धी हामीले जोगाउन सकेका छौं तर यतिले मात्र हुँदैन‚’ उनले भनिन्‚ ‘कम्युनिस्ट आन्दोलनभित्र नीतिको छलफल सिद्धान्तको र सामूहिक नेतृत्वको छलफल हुनु अत्यावश्यक छ । यसको अभावमा कम्युनिस्ट आन्दोलन धराशयी भएको हो ।’

‘आन्दोलनको सगरमाथाको चुचुरोमा पुगिसकेको अवस्थामा‚ गणतन्त्र नेपाल स्थापित गराइसकेको अवस्थामा‚ संविधान निर्माण गरिसकेको अवस्थामा‚ स्थानीय तहको सरकारमा वर्चस्व कायम गरिसकेको अवस्थामा‚ सबैले जिताएर पठाउँदा पनि आज किन हाम्रो आन्दोलन गर्ल्यामगुर्लुम झर्‍यो त ? यो सोचनीय विषय हो‚’ उनले भनिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसक्दा र सिंगो नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेको बेलामा कम्युनिस्ट आन्दोलनलाई संस्कारयुक्त बनाउनेतर्फ सबैले सोच्नुपर्ने बेला आएको उनले बताइन् । ‘सबै परिवर्तन भयो तर‚ हाम्रो संस्कार‚ संस्कृति‚ व्यवहार परिवर्तन हुन सकेको छैन । हामीले कस्तो संस्कार हुर्कायौँ ? सडकमा भएका सिर्जनशील युवालाई बाँदर बनाएर के गर्न खोजेको ?’ उनले भनिन्‚ ‘कम्युनिस्ट आन्दोलनको यस्तो रुपको सबैले खण्डन गर्नैपर्छ । देश‚ जनता‚ संस्कार‚ रुपान्तरणका लागि काम गरौँ । आफ्नो सिर्जना र क्षमताका लागि काम गरौँ तर सिर्जनात्मक तवरबाट । त्यसका लागि नेतृत्व पनि सिर्जनात्मक नै हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =