फेरि जुट्यो विघटित एमाले कार्यदल, विष्ट भन्छन्- पार्टी एकता हाम्रो ‘प्राथमिकता’

काठमाडौं । एमालेको आन्तरिक समस्या समाधानका लागि भन्दै विघटित एमाले कार्यदल फेरि जुटेको छ । कार्यदलका १० सदस्यहरुबीच शनिबार(आज) पनि सिंहदरबारमा वार्ता भएको हो । नेता सुवासचन्द्र नेम्वाङ्गले भने— ‘१० बुँदे प्रस्तावनालाई पार्टीले अनुमोदन गरिसकेको अवस्थामा अब कसरी पार्टीलाई एकताबद्ध गर्न सकिन्छ भन्नेबारे हामीले छलफल गर्यौँ । यी १० बुँदालाई टेकेर कहाँनेर मिलन बन्दु भेटिन्छ भन्नेमा छलफल भयो । निष्कर्षमा पुग्न समय लाग्ला ।’
यसअघि शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले १० बुँदे प्रस्तावनालाई अनुमोदन गर्दै वार्ता टोलीलाई विघटन गरेको थियो । कार्यदल विघटन भएपनि सहमतिका लागि भन्दै सदस्यहरु पुनः जुटेका हुन् । नेता गोकर्ण विष्टले भने— ‘आजको हाम्रो गम्भीर सरोकारको विषयमा भनेको नै पार्टी एकता हो । यसकै विविध पक्षबारे हामीले छलफल गर्यौँ । १० बुँदे प्रस्तावनालाई नै टेकेर सहमति गरौँ, पार्टीलाई एक बनाएर अगाडि लैजाऔं भन्ने भयो । यही बारेमा हामीले थप छलफल पनि गर्नेछौँ ।’
वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय एमालेको सहयोगले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट चुलिएको छ । यो अवस्थामा नेपाल पक्षले देउवालाई विश्वासको मत दिने बताउँदै आएको छ भने शुक्रबारको संसदीय दलको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।
तर, नेता विरोध खतिवडा भने देउवालाई विश्वासको मत दिन पाउने जिकिर गर्छन्, भन्छन्— ‘सर्वोच्चले नै भनेको छ । हामीलाई कुनै ह्वीप पनि लाग्दैन । हामी देउवाजीलाई विश्वासको मत दिन्छौँ ।’








