टोकियो ओलम्पिक दर्शकविहीन हुन सक्छ : सुगा

काठमाडौं । जापानका प्रधानमन्त्री जोसिहिदे सुगाले टोकियो ओलम्पिक दर्शकविहीन बनाउनुपर्ने अवस्था आउन लागेको बताएका छन् । कोरोना महामारी लगातार बढेपछि टोकियो ओलम्पिकका सबै इभेन्टमा दर्शक प्रवेशमा रोक लाग्न सक्ने सम्भावना बढेको छ । संक्रमण लगातार बढिरहँदा टोकियोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

यद्यपि यसको निर्णय भने सम्बन्धित पाँचपक्षीय बैठकबाट तय हुने सुगाले बताए । अन्तरराष्ट्रिय ओलम्पिक कमिटी, अन्तरराष्ट्रिय पाराओलम्पिक कमिटी, टोक्यो नगरपालिका, ओलम्पिक आयोजक समिति तथा जापान सरकारको संयुक्त बैठकले केहि दिनमा नै यो विषयमा निर्णय गर्नेछ ।

ओलम्पिक नजिकिएसँगै अहिले विश्वभरबाट खेलकर्मी तथा खेलकुद पदाधिकारीहरू जापान पुग्ने क्रम जारी छ । जापान सरकारले गत सोमबार टोकियोमा आपत्कालीन अवस्थाको घोषणा गरेको थियो‚ जुन २२ अगस्टसम्मका लागि तोकिएको छ । योबीचमा कोरोनाको दैनिक संक्रमणदर नियन्त्रणमा आउनुको सा‍टो थप बढिरहेको छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि प्रधानमन्त्री सुगाले यस्तो अवस्थामा दर्शकका लागि प्रवेश अनुमति दिन मुश्किल हुने बताए । उनले भने‚ ‘ओलम्पिकमा दर्शकको सहभागिताका लागि हामि पनि सचेत छौं तर बढ्दो महामारीका कारण कठिन निर्णय गर्नुपर्ने अवस्था आएको छ । चाँडै दर्शकविहीन प्रतियोगिता गर्ने निर्णय हुनु सक्छ ।’

टोकियोमा बिहीबार थप ८९६ जनामा संक्रमण देखिएको थियो । आपत्कालका बिच देखिएको यो संख्या यसअघिका हप्ताको भन्दा ३३ प्रतिशत बढी हो । अघिल्लो बिहीबार ६७३ नयाँ संक्रमित देखिएको थियो । आपत्कालका बिच जापान सरकारले ओलम्पिक भेन्यूमा सिर्फ स्पोन्सर तथा खेल अफिसियललाई मात्र अनुमति दिने तयारी गरेको छ । ओलम्पिकको ओपनिङ सेरमोनिमा पनि दर्शकको प्रवेश निषेध गरिने सम्भावना रहेको छ ।

कोरोना महामारीका कारण जापानका धेरै जनता अहिले ओलम्पिकको विपक्षमा छन् । धेरै जनता अझै पनि ओलम्पिक रद्द गर्नुपर्ने पक्षमा रहेको विभन्न सर्भेहरुले जनाएका छन्।

जापान सरकारले बढ्दो कोरोना महामारीका कारण टोकियोमा शुक्रबारबाट सुरू हुने तय भएको टर्च रिलेसमेत रद्द गरेको छ । जापानमा राष्ट्रिय स्तरमा टर्च रिले मार्चमा सुरू गरिएको थियो । शुक्रबारदेखि टोकियो शहरमा यसलाई घुमाउने कार्यक्रम रहेपनि रद्द गरिएको हो । जापानका विभिन्न शहरको परिक्रमापछि टर्च रिले टोकियो ल्याइपुर्‍याइएको थियो ।

जापानमा ओलम्पिकको आयोजनालाई लिएर भएका असन्तुष्टि टर्च रिलेका दौरानसमेत देखिएको थियो । मानिसहरूले उक्त रिले अवरोधको प्रयास गर्दै कतिपय ठाउँमा ‘नो ओलम्पिक स्टप द गेम्स’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =