५० दिनदेखि बजार अनुगमन गरिरहेका सहायक प्रजिअ भन्छन्- उपभोक्ता जाग्नुपर्छ

काठमाडाैँ । बजार अनुमगनको समाचार आयो कि चाडबाड आएको झल्को आउँछ । हुन्छ पनि त्यस्तै चाडबाड आउनै लागेबाहेक सरकारी निकायले बजार अनुमगन गरेको खासै सुनिंदैन । चाडबाडकै बेला पनि केही दिन गरिने अनुगमन औपचारिकतामै सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ्गले भने अहिले ५० दिन देखि लगातार अनुगमन गरिरहेको छ । अनुगमनको ४९ औँ दिन (सोमबार)सम्म पाँच सय ५० फर्म र पसलको अनुगमन गरेको धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

अहिलेसम्म धादिङ्गका १३ वटामध्ये १२ वटा पालिकाको बजारक्षेत्रमा अनुगमन गरिसकेको उनले बताए । उपाध्यायकाअनुसार अनुगमन गरेकामध्ये ८१ प्रतिशत पसलमा म्याद नाघेका सामान भेटिएका छन् । जसमा ३७ किसिमका म्याद नाघेको सामग्री बिक्रिका लागि राखेको पाइएको छ । यस्तै १२ प्रतिशत किराना पसल बिना दर्ता सञ्चालन भएका छन् भने ४८ प्रतिशत व्यवसायीले साइनवोर्ड नराखी व्यवसाय सञ्चालन गरेका छन् ।

८० प्रतिशत किराना स्टोरमा मूल्य सुची नभएको, पाँच प्रतिशत फर्मले लेबल नभएका बस्तुहरु बेच्ने गरेको पाइएको छ । कतिपय ठाउँमा बिल नदिने पैसा बढी लिने गरेकोलगायत गुनासो पाइएको उपाध्यायले बताए । अनुगमनको क्रममा बढी पैसा लिने पसल र ५० बढी र्फमहरुलाई कारबाही गरिएको पनि उनले बताए ।

अनुगमन गर्न नभ्याइएका हार्डवयर, डेरी पसलहरु अनि राजमार्गका होटलहरुमा अझ धेरै गुनासो आउने गरेको उनले बताए । विविध कारणले अहिले त्यहाँ अनुगमनमा पुग्न नसकेको र चाँडै अनुगमनमा जाने पनि उनले जानकारी दिए । अनुगमनका क्रममा कतिपय सामान बजारमा भेटिएको उत्पादनभन्दा फरक र नाम नसुनिएका तर नाम मिल्दोजुल्दो अनि देख्दा पनि उस्तै उस्तै किसिमको लोगो राखिएको पाइएको उनले बताए । यस्ता उत्पादन खासगरी पेयपर्दाथमा बढि भेटिएको उनले जानकारी दिए ।

यस्ता सामानको ब्राण्ड आधिकारीकता के हो भन्ने सन्दर्भमा पनि हेरिरहेको र यस्ता सामान उत्पादक कम्पनी दर्ता भएका र आधिकारीक रुपमा डिलरले नै बिक्रि गरेकोे पाइएको उनले जानकारी दिए । अनुगमनको क्रममा नाम नै नसुनेका अल्लि फरक खालका ब्राण्ड पनि भेटिएको र त्यसको आधिकारीकता बुझ्न थप परिक्षणको योजना बनाइरहेको उनले जानकारी दिए । गुणस्तरको बारेमा बुझ्न त्यसता बस्तुको नमूना लिएर प्रयोगशालामा नै पठाउने योजना बनाएको उनको भनाइ छ ।

७ लाख बढी राजस्व संकलन
अनुगमनका क्रममा जरिवानाबाट ७ लाख बढी राजस्व सङ्कलन भएको छ । म्याद नाघेका करिब १५ लाख बराबरको साम्रागी अनुगमनको क्रममा जफत गरेर नष्ट गरीएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । जफत गरेकामध्ये कोक, पेप्सी, फेण्टा, स्प्राइट जस्ता पेय पदार्थ, सबैभन्दा बढी म्याद नाघेका भेटिएको त्यसपछि बिस्कुट, खानेतेल, चकलेट कोलगेटलगायत भेटिएको उनले जानकारी दिए ।

उपभोक्ता जागरुक हुन जरुरी
लकडाउनको मौका पारी महंगोमा सामान बेचिरहेको गुनासो धेरै सुनिएपछि अनुगमन शुरु गरिएको सहायक प्रजिअ उपाध्यायले बताए । उपभोक्ता जागरुक भएर मूल्यसूची हेर्ने, उत्पादन र उपभोग मिति हेर्ने बढी मूल्य लिए सोधिखोजी गर्ने र जानकारी दिने गरेमा ब्यापारीले बढी मूल्य लिने वा म्याद गुज्रिएका सामान बेच्ने सम्भावना कम हुने उनको भनाइ छ ।

अनुगमनका क्रममा उपभोक्तालाई सचेत बनाउने काम पनि गरिएको उपाध्यायले बताए । अनुमगनबाट उपभोक्ता जागरुक र व्यवसायी सचेत भएका र अव पनि अनुमगनलाई निरन्तरता दिने भएकाले गुणस्तरहीन, बढी मूल्य लिइएका र म्याद नाघेका सामान विक्रि वितरण गर्न नदिइने उनले प्रतिवद्धता ब्यक्त गरे । यसका लागि उपभोक्ता पनि सचेत हुनुपर्नेमा उनले जोड दिए । जिल्लाभरि सबैतिर सँधैभरि अनुमगन गर्न सम्भव नुहने भएकाले उपभोक्ता सचेत भए यस्ता सामान विक्रि नहुने उनको भनाइ छ ।

यसलाई हामीले निरन्तरता दिन सक्यौ भने पक्कै पनि प्रभाबकारी हुने उनको भनाई छ । स्थानीय तहको पनि अधिकार क्षेत्रभित्र पर्ने भएकाले स्थानीय तहहरुले पनि नियमित रुपमा अनुगमन गर्न सके अझै प्रभावकारी हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *