महानगरले ‘महानगर विशेष अस्पताल’ निर्माण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार महानगरपरिषद् बैठकमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न १ सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने जानकारी दिए ।

त्यस्तै कोरोनाका कारण प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उनले बताए । शाक्यले महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गर्ने र आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिने बताए ।

नीति तथा कार्यक्रममार्फत महानगरले विद्युतीय सवारीसाधनमा शतप्रतिशत कर छुट दिने घोषणा गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ठमेल र बसन्तपुर क्षेत्रलाई पैदलयात्रीमैत्री बनाई पर्यटक आकर्षण क्षेत्रको रूपमा विकास गरिने शाक्यले बताए ।

चालिस माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने महानगरले जनाएको छ । महामारीका कारण संकटमा परेका लघु, घरेलु र साना उद्योगहरुको पुनरुत्थानका लागि ‘रिभल्विङ फन्ड’ को स्थापना गरी सहुलियत दरमा कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइने पनि मेयर शाक्यले बताए ।

त्यस्तै महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको बताए ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहन स्वरुप मासिक १००० उपलब्ध गरिने उनले बताए । त्यस्तै महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ अघि सारेको डंगोलले जानकारी दिए ।

उपत्यकाका स्थानीय तहहरू, काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरू, स्थानीय समुदाय र उद्योगी तथा व्यवसायीसँगको सहकार्यमा ‘पौरखी मेला’ आयोजना गरिने पनि नीतिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसहित केहि वडा अध्यक्षले महानगरपरिषद् बैठक बहिष्कार गरेका थिए । महानगरको नीति तथा कार्यक्रम बोर्डबाट पारित नगरि नगरपरिषद्‌मा लगिएको भन्दै कांग्रेसबाट निर्वाचन पदाधिकारीले महानगरपरिषद् बैठक बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =