फिफा विश्वकप २०२६

विश्वकपको १०००औँ खेलमा जापानको शानदार प्रदर्शन

लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ

काठमाडौँ। फिफा विश्वकप २०२६ को इतिहासमा १०००औँ खेलका रूपमा दर्ज भएको प्रतिस्पर्धामा एसियाली शक्ति जापानले प्रभावशाली प्रदर्शन गर्दै अफ्रिकी राष्ट्र ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। समूह एफ अन्तर्गत भएको यस जितसँगै जापानले नकआउट चरण पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।

मेक्सिकोको मोन्टेरेमा सम्पन्न खेलमा जापानका लागि असाय उएदाले दुई गोल गर्दा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। दुई खेलबाट जापानले ४ अङ्क जोडेको छ भने समान अङ्क रहेको नेदरल्यान्ड्ससँग शीर्ष स्थानको प्रतिस्पर्धा कायम राखेको छ।

जापानले खेलको सुरुवातदेखि नै ट्युनिसियामाथि दबाब बनाएको थियो। चौथो मिनेटमै केइतो नाकामुराको पासमा दाइची कामाडाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा को इताकुराको पासलाई सदुपयोग गर्दै उएदाले गोल गरेपछि जापान पहिलो हाफमै २–० ले अघि बढ्यो।

दोस्रो हाफमा पनि जापानको आक्रामक खेल जारी रह्यो। ६९औँ मिनेटमा उएदाको पासमा जुन्या इटोले गोल गर्दै अग्रता ३–० पुर्‍याए। त्यसपछि ८३औँ मिनेटमा काइसु सानोको पासमा उएदाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानको शानदार जित सुनिश्चित गरे।

खेलभर ६२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको जापानले ११ वटा प्रहार गर्दा पाँच सट लक्ष्यमा राख्न सफल भयो। विपरीत, ट्युनिसियाले दुई सट मात्र प्रहार गर्‍यो र कुनै पनि सट लक्ष्यमा राख्न सकेन।

उएदा यस विश्वकपमा एकै खेलमा दुई गोल र एक असिस्ट गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि नेदरल्यान्ड्सका कोडी गाक्पोले स्विडेनविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए।

यो जितसँगै जापानले विश्वकपमा ट्युनिसियाविरुद्ध दोस्रो विजय पनि दर्ता गरेको छ। यसअघि सन् २००२ को विश्वकपमा घरेलु मैदानमा जापानले ट्युनिसियालाई २–० ले हराएको थियो।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापान अब समूह चरणको अन्तिम खेलमा स्विडेनसँग भिड्नेछ। उता लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। स्विडेनसँग पहिलो खेल ५–१ ले गुमाएको ट्युनिसियाले त्यसपछि प्रशिक्षक साब्री लामोउचीलाई हटाएर हार्भे रेनार्डलाई जिम्मेवारी दिएको थियो। तर प्रशिक्षक परिवर्तनले पनि टोलीको नतिजामा सुधार ल्याउन सकेन।

दुई खेलमा नौ गोल खाइसकेको ट्युनिसिया यस विश्वकपमा दुई खेलमै सबैभन्दा बढी गोल खाने पहिलो टोली बनेको छ। समूह चरणको अन्तिम खेलमा ट्युनिसियाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलसँगै समूह एफ को विजेता र उपविजेता को टुङ्गो लाग्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =