सुकेटारको नाम ‘रवीन्द्र विमानस्थल’ राखिएकोमा योगेश भट्टराई असन्तुष्ट !

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सम्बन्धमा असहमति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि राखेका हुन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीसमेत रहेका भट्टराईले ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुअघि त्यसको विषयमा व्यापक छलफल र अध्ययन हुनुपर्ने बताए । ‘परिचय बदल्नुअघि आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ उनले भनेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राख्ने निर्णय सार्वजनिक गरेको थियो । निर्णय प्रक्रियामा सबैको सहभागिताले मात्रै सहभागिता मुलक लोकतन्त्र बलियो हुने उनको भनाई छ । ‘असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ,’ उनले अगाडि भनेका छन्, ‘अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’








