बजेटको प्राथमिकता कोभिड उपचार, साढे ३७ अर्ब विनियोजन

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको उपचार र आवश्यक कार्यका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
कोभिड १९ को निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरिने, अक्सिजनको व्यवस्था गरिने उनले बताएका छन् । त्यस्तै, १०० शय्याभन्दा बढी शय्याका अस्पतालले आफैं अक्सिजन प्लान्ट राख्नु पर्ने, कोभिड उपचारका लागि आवश्यक उपचारमा प्रयोग हुने सामग्री तथा औषधिमा भन्सार छुट दिने व्यवस्था बजेटले गरेको छ । त्यस्तै, कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई कोभिड अवधिभर खाइपाइ आएको तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने व्यवस्था गरिएको छ ।
सरकारले आइसियु, एचडियुलगायत सामग्री किन्न ४ अर्ब रुपैयाँ विनियोजन गरिएको जनाएको छ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ छुट्याईएको छ। त्यस्तै, कोभिडविरुद्धको खोप निःशुल्क बनाउने पनि उनले बताएका छन् । बजेटले कोभिडविरुद्धको उपचार, आर्थिक विकास र सामाजिक न्यायलाई प्राथमिता दिएर बजेट ल्याएको जनाएको छ ।
सबै पक्षको विरोधका बीच सरकारले पूर्ण बजेट नै ल्याएको छ ।








