बेलायत सरकारद्वारा नेपाललाई २६० भेन्टिलेटर सहयोग

काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ।

बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताइएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाइएको दूतावासले जनाएको छ ।

अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा संयुक्त अधिराज्य सरकारको सहयोगका लागि लण्डनस्थित राजदूतावासले पहल गरिरहेको र त्यसका लागि विशेषगरी द्विपक्षीय सहयोग अथवा कोभ्याक्सअन्तर्गत यथाशीघ्र खोप उपलब्ध गराउने विषयमा राजदूत लोकदर्शन रेग्मीले बेलायतका परराष्ट्र राज्यमन्त्री तथा रक्षामन्त्रीसँग शिष्टाचार भेट गरी अनुरोध गरेको दूतावासले उल्लेख गरेको छ ।

अत्यावश्यक सहयोग सामग्री खोप जुटाउन बेलायती सरकार, बेलायती संसद्का सदस्य, गैरआवासीय नेपाली सङ्घ, विभिन्न नेपाली सङ्घसंस्था तथा बेलायती गैर सरकारी च्यारिटी संस्थासँग भेटघाट, छलफल तथा समन्वय भैरहेको र केही समयमा परिणाम आउने राजदूत रेग्मीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + three =