व्यक्तिगत खर्चमा सिलिन्डर प्रदान गरिएको वनमन्त्री आलेको स्पष्टोक्ति

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आलेले डोटी जिल्लाको जनप्रतिनिधिको हैसियतले उक्त जिल्लामा व्यक्तिगत सहयोगबाट अक्सिजन सिलिन्डर प्रदान गरिएको जनाएका छन् ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरी सञ्चार क्षेत्रमा आएका समाचार कपोकल्पित भएको भन्दै आफ्नै खर्चबाट अस्पताललाई सहयोग गरेको मन्त्री आलेको निजी सचिवायलले जनाएको छ ।
‘नेपाल सरकारको बहालवाला मन्त्री एवं डोटी जिल्लाको जनप्रतिनिधिको हैसियतले उक्त क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा राहत पुगोस् भन्नका लागलि माननीय मन्त्रीज्यूको व्यक्तिगत सहयोगबाट प्रदान गरेका अक्सिजन सिलिन्डरका बारेमा केही सञ्चार माध्यमले कपोकल्पित तथा भ्रामक समाचार बनाएको प्रति यस सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्री आलेले सोमबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गृहजिल्ला डोटीमा वितरण गरेका अनुदानका अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिर टाँसेर वितरण गरेका थिए । त्यसपछि सञ्चार माध्यम, सामाजिक सञ्जाललगायतमा यसै विषयलाई लिएर विरोध भएको थियो ।










