प्रतिगामी कदमविरुद्ध एकजुट हुन धनुषामा विपक्षी गठबन्धनको आह्वान

काठमाडौं । धनुषामा चार दलले प्रधानमन्त्री र राष्ट्रपति मिलेर मुलुकलाई प्रतिगमनतिर धकेलेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् ।

नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी र नेपाल-खनाल पक्षीय नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध एकजुट भई राष्ट्रिय हित रक्षाका लागि दृढतापूर्वक अघि बढ्न आह्वान गरेका हुन् ।

नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरी राष्ट्रिय हित रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायलाई उनीहरुले आह्वानसमेत गरेका छन् ।

जनकपुरस्थित नेकपा माओवादी केन्द्र धनुषाको कार्यालयमा नेपाली कांग्रेस धनुषाका सभापति महेश शंकर गिरी, माओवादी केन्द्र धनुषाका सचिव दिपक यादव, जनता समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष पशुपति यादव र नेकपा एमाले धनुषाका अध्यक्ष रामचन्द्र पण्डितसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले रातारात अवैधानिक ढंगबाट संसद विघटन गरेको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा समेत गरेको छ । बैठक पश्चात जारी प्रेस वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कार्यका विरुद्धमा एकजुट हुन सबैलाई आह्वान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =