जडित क्षमताको आधा मात्रै सिमेन्ट उत्पादन, ५ वर्षभित्र माग दोब्बर हुने

काठमाडौं । नेपालमा हाल सिमेन्ट उद्योगहरुको कुल जडित उत्पादन क्षमताको आधा मात्रै सिमेन्ट उत्पादन भइरहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५५ सिमेन्ट उद्योगको कुल क्षमता वार्षिक १ करोड ५० लाख मेट्रिकटन रहेको छ । तर, माग भने वार्षिक ९० लाख ५० हजार रहेको छ ।
‘नेपालका सिमेन्ट उद्योगमा वैदेशिक लगानी ः आर्थिक सामाजिक प्रभावको अध्ययनसम्बन्धी प्रतिवेदन’ले यस्तो तथ्य उल्लेख गरेको हो । तर, ५ वर्षभित्र नेपालमा सिमेन्टको माग दोब्बर हुने प्रतिवेदनले उल्लेख गरेको छ । सन् २०२५ भित्र नेपालमा वार्षिक २ करोड ५८ लाख मेट्रिक टन पुग्ने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ ।
नेपालमा ठूला पूर्वाधार आयोजनाको निर्माण सुरु हुँदै गरेकोले नेपालमा सिमेन्ट उद्योगको माग बढ्ने राष्ट्र बैंकले प्रक्षेपण गरेको हो । खास गरी राष्ट्रिय गौरवको सूचीमा रहेका ठूला पूर्वाधार आयोजनाहरु बन्न बाँकी नै रहेको, जलविद्युत् आयोजना, विमानस्थललगायत थुप्रै पूर्वाधारका ठूला आयोजना बन्न बाँकी रहेकोले नेपालमा सिमेन्टको माग बढ्ने प्रतिवेदनले उल्लेख गरेको छ ।
त्यस्तै, सिमेन्टको माग बढ्ने भएकोले प्रत्यक्ष वैदेशिक लगानीमा सिमेन्ट उद्योग खोल्नु उपयुक्त हुने सुझाव समेत राष्ट्र बैंकले दिएको छ । हाल नेपालमा वार्षिक १५ लाख ६० हजार मेट्रिक टन सिमेन्ट आयात भइरहेको प्रतिवेदनमा उल्लेख छ । उक्त आयात कटौती गर्न, निर्यात प्रवद्र्धन गर्न र नेपालका चुनढुंगा खानीलाई उपयोगमा ल्याउन यस उद्योगमा एफडीआई ल्याउनु आवश्यक हुने केन्द्रीय बैंकको उक्त प्रतिवेदनले उल्लेख गरेको छ ।
नेपालमा हाल प्रत्यक्ष वैदेशिक लगानीमा ३, सरकारी स्वामित्वमा २ र निजी लगानीमा ५० सिमेन्ट उद्योग सञ्चालनमा हरेका छन् ।








