जसपा तत्काल सरकारमा नजाने

काठमाडौं । जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ । सरकारमा सहभागी हुने विषयमा दुई धार देखिएका जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर पार्टी अहिले सरकारमा नजाने र प्रतिपक्षमै रहने उल्लेख गरेका हुन् ।

राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त भएमा भने सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले बताएका छन् ।

आठ बुँदे विज्ञप्तिको चौथो बुँदामा भनिएको छ, ‘ पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवं अड्कलबाजीहरु भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहनेछ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ ।’

अध्यक्षद्वयले पार्टी एकतालाई अझ सुदृढ गरी बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्ने पनि उल्लेख गरेका छन् ।

जसपाभित्र ठाक’र पक्षका १५ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने दिन संसदमा तटस्थ बसेका थिए भने यादव पक्षका सांसदले विपक्षमा मतदान गरेका थिए ।

नयाँ सरकार गठनको विषयमा कांग्रेससँग पटकपटक छलफल गरे पनि जसपाको ठाकुर पक्षले तत्काल कांग्रेसको नेतृत्वमा सरकारमा जान नसक्ने बताएपछि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दाबी छोडेको थियो । विपक्षी दलहरुले बहुमत पुर्याउन नसकेपछि संसदमा ठुलो दलको संसदीय दलको नेताका रुपमा केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । उनले ३० दिन भित्रमा संसदमा बहुमत सिद्ध गर्नुपर्नेछ । जसपाले समर्थन नगरे ओलीको बहुमत पुग्ने छैन ।

जसपाका अध्यक्षद्वयले जारी गरेको विज्ञप्ति:

१) जनता समाजवादी पार्टी, नेपाल संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, जातीय, वर्गीय, लैङ्गिक विभेद र असमानतालाई अन्त्य गरी समानता, स्वतन्त्रता, सामाजिक न्याय र समाजवाद सहितको लक्ष्य प्राप्तिका लागि मुलुकमा नयाँ बैकल्पिक लोकतान्त्रिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा रहेको छ ।

२) हालै प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत प्राप्त गर्न राखेको प्रस्तावमाथि पार्टीको पदाधिकारीहरूको बैठकद्वारा सहमति गरी आपसी समझदारी कै आधारमा माननीय सांसदहरूलाई आ–आफ्नो स्वविवेक प्रयोग गर्दै प्रस्तावको विरुद्ध मत दिने वा तटस्थ बस्ने अवसर प्रदान गरिएको व्यहोरा सर्वविदितै छ। तर यस अवसरलाई दुरूपयोग गरी पार्टीका केही नेतृत्वबाटै नै गुट–उपगुट खडा गर्ने पार्टी भित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आ–आफ्नो पक्ष खडा गरी सञ्चार माध्यमहरूमा समेत दिइएका गैर–राजनीतिक, गैर–जिम्मेवार अभिव्यक्तिहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरू पार्टी एकता, अनुशासन, आचार संहिता एवम् पार्टी कार्यपद्धति प्रतिकुल रहेका छन् । यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरुन्त बन्द गर्नु पर्दछ।

३) पार्टी भित्रका गतिविधिहरू पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक कार्य प्रणाली अनुरूप हुने गरी गरिनु पर्दछ ।

४) पार्टी सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरु भइरहेका छन् । तत्काल हाम्रो पार्टी सरकारमा सहभागि हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।

५) समायोजन हुन नसकेका विभिन्न स्तरका पार्टी संगठन / भ्रातृ संगठन लगायत संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई पार्टी विधान, समायोजन सम्बन्धी निर्देशिका र पार्टीले गरेको निर्णयहरूको आधारमा यथाशिघ्र सम्पन्न गर्दै एकतावद्ध, अनुशासित एवम् सुदृढ पार्टी संगठन निर्माण गर्न पर्दछ।

६) पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठन भित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समस्याहरूको समाधान गर्न पर्दछ ।

७) पार्टीभित्र कसैले व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, गुट–उपगुट खडा गर्ने, पार्टी नेताहरूका विरूद्ध अनेकौं भ्रम फैलाउने, विखण्डन र विभाजनकारी भूमिका खेल्न खोज्ने क्रियाकलाप, विचार प्रकृतिहरूलाई अन्त्य गरी पार्टीलाई एकताबद्ध राख्नु पर्दछ ।

८) पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन सम्पूर्ण पार्टी नेतृत्व वर्ग, पार्टी सदस्यहरू, शुभचिन्तक एवम् शुभेच्छुकहरूमा हार्दिक अनुरोध गरिन्छ ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =