महँगिन थाल्यो सुन, प्रतितोला १ लाख पुग्ने अनुमान

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लाग्न थालेको छ । आइतबार छापावाल सुनको मूल्य नेपाली बजारमा प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य गत ४ महिना यताकै उच्च हो ।
४ महिनाअघि २०७७ माघ ८ गते ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । ९ माघमा ९२ हजार ९ सयमा ओर्लिएको थियो । त्यसपछि उकालो लागेको सुनको मूल्य २० माघमा आइपुग्दा ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको थियो । ओरालो लाग्ने क्रममा २५ फागुनसम्ममा प्रतितोला ८५ हजार ६ सय रुपैयाँसम्ममा ओर्लिएको थियो ।
र, त्यसअघि २०७७ को साउन २३ गतेको मूल्यसँग तुलनामा गर्ने हो भने सुनको मूल्य अझै पनि ११ हजार रुपैयाँ सस्तै रहेको देखिन्छ । २३ साउन २०७७ मा नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गर्दै १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता क्रमशः घट्दै आएको थियो ।
अब फेरि अर्थात् वैशाख अन्तिम सातादेखि उकालो लाग्न थालेको सुनको मूल्य गत वर्षकै विन्दुमा नपुग्ला भन्न सकिने अवस्था छैन ।
किनभने अहिले अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस १ हजार ८ सय ४३ दशमलव ९० अमेरिकी डलर पुगेको छ । जबकी दुई साताअघि मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ हजार ७ सय १३ अमेरिकी डलर थियो । दुई सातामै ३० डलर बढिसकेको छ । यो मूल्य बढ्दै अबको एक दुई महिनाभित्र प्रतिऔंस २ हजार डलरभन्दा बढी बढी हुने अनुमान गरिएको छ ।
कोरोना कहरका कारण अन्तर्राष्ट्रिय लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित भइरहेको, अमेरिकामा रोजगारी कटौती भएको र रोजगारी सिर्जना दर न्युन रहेको, डलरसँग नेपाली मुद्रा कमजोर भएकोलगायतका कारणले सुनको मूल्य बढेको विश्लेषण गरिएको छ ।
यही सफ्तारमा सुनको मूल्य बढ्ने हो भने गत साउनकै जस्तो यस वर्षको साउन–भदौमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघ्ने प्रक्षेपण सुनचाँदी व्यवसायीहरुको छ ।








