कोभिडविरूद्ध सहकार्य गर्न महानगर र ७ अस्पतालबीच सम्झौता

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्न काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अस्पतालले माग गरेअनुरुप उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न एकै दिन ७ अस्पतालसँग सम्झौता गरेको छ ।

अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर सङ्क्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्रका सरकारी तथा सामुदायिक अस्पताललाई अनुदान रकम दिने गरी सम्झौता गरेको हो ।

महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पतालसँग सम्झाैता गरेकाे हाे ।

यसअघि महानगरपालिकाले वैशाख २४ गते सम्झौता गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

त्यस्तै वैशाख २७ गते नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्न सम्झौता गरिसकिएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा महानगरका जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका तर्फबाट सम्बन्धित अधिकारीले सम्झाैतामा हस्ताक्षर गरेका छन् ।

“ससाना युनिटमा आइसोलेशन वा उपचारका अन्य प्रणाली विकास गर्दा धेरै स्रोत र साधन खर्च हुन्छ, यी ठाउँहरु उपचारका लागि अन्तिम ठाउँ होइनन्, यहाँ कसैलाई जटिल समस्या भयो भने लानुपर्ने अस्पताल नै हो, त्यसैले भौतिक संरचना, विशेषज्ञ जनशक्ति र प्रणाली भएका सामुदायिक तथा सरकारी अस्पतालको क्षमता बढाउनेतर्फ जोड दिइएको छ”, प्रमुख शाक्यले भने ।

सम्झौता भएका अस्पतालमध्ये वीरेन्द्र सैनिक अस्पतालले महानगरपालिकाको नामबाट अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन गर्नेछ । छ महिनाका लागि गरिएको सम्झौताबमोजिम काम शुरु गर्न पहिलो किस्तास्वरुप रू. २ करोड उपलब्ध गराइनेछ ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ श्ययाको कोभिड अस्पताल सञ्चालन गर्नेछ । यसको पूर्वाधार विकासका लागि करीब रु ३० लाख र ३५ शय्याकाे कोभिड विशेष अस्पतालको समग्र व्यवस्थापन, आवश्यक जनशक्तिका लागि महानगरले मासिक झण्डै रु ४८ लाख व्यहार्नेछ । यो सम्झौता कोभिडको महामारीका विषयमा कामपाले अर्को निर्णय नगरेसम्मका लागि हो ।

त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा १५ भेन्टिलेटर र ५० थान मोनिटर खरीद गर्ने रकम महानगरपालिकाले उपलब्ध गराउनेछ ।

यसरी नै अन्य सम्झौता भएका अस्पतालले पनि आफूलाई कोरोना महामारीसँग जुध्नका लागि आवश्यक पर्ने सामग्री माग गरेकाले सोही अनुरुप महानगरले अनुदान रकम दिने छ ।

महानगरले अनुदान दिएका अस्पतालले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनु पर्ने बताइएको छ । खर्च र लेखा परीक्षण प्रचलित कानूनले दिएको अधिकारबमोजिम रहनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fifteen =