जसपा संसदीय दलको नेतामा महतो, बहुमतको निर्णय भएको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । महतोलाई बहुमतको आधारमा दलको नेतामा चयन गरिएको सांसद एकवाल मियाँले मकालु खबरलाई जानकारी दिए । भने– ‘१९ जना सांसदको उपस्थिति र समर्थनमा उहाँ (महतो) लाई दलको नेतामा चयन गरिएको हो ।’

पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउने सांसद मियाँको भनाइ छ । ‘अहिले कार्यालय बन्द छ,’ सांसद मियाँले भने– ‘खुलेपछि निर्णय दर्ता गराउँछौँ । यो बहुमतको निर्णय हो ।’

महतोलाई दलको नेतामा चयन गर्दा उपेन्द्र यादव भने उपस्थित थिएनन् । यो एकपक्षीय भएन र ? भन्ने सवालमा सांसद मियाँले भनेका छन्– ‘एकपक्षीय होइन, बहुमतको निर्णय हो । हामी जम्मा ३२ जना छौँ, त्यसमा १९ जना भनेको बहुमत हो । यो वैधानिक निर्णय हो ।’

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको एक वर्षपछि संसदीय दलको नेता चयन भएको हो । पार्टी एकीकरणकै बेला जसपा अध्यक्ष महन्थ ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए । ‘निर्णय पहिलेकै हो,’ अर्का सांसद उमाशंकर अरगरियाले मकालु खबरसँग भने– ‘अहिले आएर कार्यान्वयन गरिएको हो । पहिल्यै सबैको सहमति भएको थियो ।’

केही दिनअघि दलकै नेता चयन गर्न बसेको बैठकमा सहमति हुनसकेको थिएन । जसपा संसदीय दलका नेताका लागि अर्का अध्यक्ष उपेन्द्र यादवले पनि इच्छा व्यक्त गरेका थिए । तर, स्वयम् यादवबिना बसेको बैठकले दलको नेता महतोलाई चयन गरेको हो ।

अब यसपछि केही महिनायतादेखि एक ठाउँ रहन नसकेका जसपा अझै एकैठाउँ रहन सक्छन् भन्नेबारे प्रश्नचिह्न खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *