निषेधाज्ञापछि विद्युत माग २०० मेगावाटले कमी

काठमाडौं । देशभर गरिएकाे निषेधाज्ञापछि आर्थिकलगायत मानवीय गतिविधि घट्दा विद्युत् मागमा समेत २०० मेगावाटले गिरावट आएको छ ।
कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा र महामारीका कारण उत्पादनमूलक उद्योग, पर्यटन क्षेत्रका सेवा उद्योग, प्रतिष्ठान, शैक्षिक संस्थालगायत धेरै क्षेत्र बन्द अवस्थामा रहेकोले विद्युतकाे माग कम भएको हो । तर, संक्रमण नियन्त्रणका लागि गत वर्षको जस्तो लकडाउन गरेर पूर्ण रुपमा गतिविधि ठप्प भने नभएकोले विद्युत् मागमा धेरै कटौती नभएको नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले मकालु खबरलाई बताए ।
‘निषेधाज्ञा र महामारीले विद्युत् माग घटाएको छ तर गतवर्षको जस्तो धेरै घटेको छैन,’ उनले भने । हाल सामान्य अवस्थामा दैनिक ८ सय ५४ मेगावाट विद्युत् माग र आपूर्ति भइरहेको छ । खास गरी साँझमा देखिने गरेको उच्च माग भने १ हजार १ सय ४५ मेगावाट रहेको उनले बताए ।

काठमाडौं उपत्यकाको विद्युत् माग ३ सय मेगावाटको हाराहारमीमा रहँदै आएकोमा हाल २ सय ५० मेगावाटबाट नबढेको उनको भनाइ छ ।
बिहीबारको माग र आपूर्तिको व्यवस्थापनलाई हेर्ने हो भने विद्युतकाे यो माग धान्न प्राधिकरणले आफूले प्रवर्द्धन गरेका आयोजनाबाट २ सय ९१ मेगावाट विद्युत् उत्पादन र आपूर्ति गर्दै आएको छ ।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक (निजी क्षेत्र)ले प्रवद्र्धन गरेका आयोजनाबाट ३ सय ६ मेगावाट लिएको छ । यसरी आन्तरिक व्यवस्थापनबाट ५ सय ९७ मेगावाट र भारतबाट २ सय ३९ मेगावाट आयात भएको छ ।
तर गत वर्षको यही मौसममा हुने गरेको आयातको तुलनामा यस वर्षको आयात कम भएको प्राधिरणले जनाएको छ ।
‘गत वर्षहरुमा यो बेला हामीले भारतबाट ७ सय मेगावाटसम्म आयात गर्दै आएका थियौं । तर, यस वर्ष यो बेला कुनै दिन पनि ३ सय ६० मेगावाट भन्दा बढी आयात भएको छैन ।
पछिल्लो समय वर्षा हुन थालेको र खोलामा पानीको बहाबमा विस्तारै सुधार हुन थालेकोले नदी प्रवाही आयोजनाको उत्पादन घट्न नदिएको उनले बताए ।








