एफएनसीसीआई, जैन–निकेतन र आरम्भको सहकार्यमा आइशोलेसन सञ्चालन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेशनको सहकार्यमा कोभिड आइशोलेशन सेन्टर सञ्चालनमा ल्याउने भएको छ । महासंघले कमलपोखरीस्थित जैन निकेतनमा ड्राई (अक्सिजन र आपतकालिन उपचार विनाको) आइशोलेसन सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।
आइशोलेसन सेन्टरमा शुरुमा २६ बेड रहने र आवश्यकताका आधारमा थप हुने जनाएको छ । कोरोना संक्रमणका कारण आइशोलेसनमा बस्न समस्या परेका निम्न आय भएकाहरुलाई लक्षित गरी उक्त सेन्टर संचालनमा ल्याउन लागिएको हो ।
निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमित कामका लागि बाहिर जाने र त्यसबाट संक्रमण समेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितलाई उचित वातावरणमा एकै ठाउँमा राखी संक्रमण नियन्त्रणमा सहयोग गर्ने उद्देश्य रहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार आइशोलेसनका लागि स्थान भगवान महावीर जैन–निकेतनले उपलव्ध गराएको छ । आरम्भ फाउण्डेशनले आइशोलेसनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारीसहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको प्रवन्ध गर्नेछ ।
स्थानीय तहमा संक्रमितसंग सम्वय भने काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गर्ने भएको छ ।
आइशोलेसनमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजाको प्रवन्ध गरिने छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु उपलव्ध गराइने छ ।
आइशोलेसनमा रहँदा कुनै संक्रमितमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने भए विरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय नेपाल उद्योग वाणिज्य महासंघले गरिदिने जनाएको छ । त्यसपछिको व्यवस्थापन भने विरामी तथा विरामीका परिवारले गर्नुपर्ने छ । केही व्यवहारिक र सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रारम्भमा कोभिड संक्रमित एकल महिलाहरूलाई सेन्टरमा सेवा दिन असमर्थ हुने महासंघ स्पष्ट पार्दछ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भने– ‘कतिपय संक्रमितहरू संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइनको अभावमा ठूलो समस्यामा पर्ने भएकाले दैनिक कमाएर गुजारा गर्नुपर्ने निम्न आय भएका वर्गहरूलाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न महासंघले आइशोलेसन सेन्टर संचालनमा ल्याएको हो ।’
महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्यले विभिन्न संघ संस्थाको सहयोग र समन्वयमा यस्ता सेन्टरहरू अन्य ठाउँमा पनि विस्तार गर्दै जाने योजना भएको बताए ।
सामूहिक आइशोलेसन भएको कारण जेष्ठ नागरिक, दीर्घ रोगी लगायत १५ वर्षमुनिका बालबालिकालाई पनि यस केन्द्रमा हाललाई सेवा दिन असमर्थ रहेको जनाएको छ ।
महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडले जैन निकेतनले समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएका र आफ्नो स्थान उपलव्ध गराउन पाउँदा खुसी लागेको बताए ।
आरम्भ फाउण्डेशनका अध्यक्ष सिमा अधिकारी स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनमा सहयोग गर्ने अवसर पाएकोमा महासंघलाई धन्यवाद दिइन् ।








