प्रदेश १ : बढ्दो प्लाज्माको माग, अभाव पूरा गर्न यस्तो छ तयारी

विराटनगर । प्रदेश १ मा कोभिड-१९ को उपचारमा संलग्न रहेकालाई प्लाज्माको अभाव हुन थालेको छ । बिरामीका लागि प्लाज्माको माग पछिल्लो १० दिनदेखि बढेको हो । माग बढ्दै जाँदा उपचारको क्रममा अन्तिम अस्त्रको रुपमा प्रयोग हुने प्लाज्मा पाउनै समस्या भएको हो । संवाद समूहको आयोजनामा भएको भर्चुअल संवादको क्रममा रगतको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले प्लाज्मा व्यवस्थापनका लागि निक्कै सकस भएको बताएका हुन् ।
युथ फर ब्लडका अंकित दासले अत्यधिक संख्यामा संक्रमित बढेसँगै प्लाज्माको माग बढेको बताए । नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित ब्लड बैंकमा कार्यरत सुमन सिंहले ब्लड बैंकमा गत वर्षको कोभिडको तुलनामा यो वर्ष प्लाज्माको माग अत्यधिक बढेको सुनाए ।
यो वर्षको वैशाख १७/१८ गतेदेखि प्लाज्माको माग बढेर गएको र बुधबारसम्म आउँदा दैनिक ७ देखि १० जनाले अक्सिजनको माग गर्न थालेको उनले बताए । ‘माग बढ्दै जाँदा एन्टिबडी बाहेकका प्लाज्माको पनि प्रयोग हुन थालेको देखिएको छ,’ उनले भने, ‘एन्टिबडी बाहेकको प्लाज्माले काम गर्ला/गर्दैन भन्ने प्रश्न छ ।’ स्थानीय सरकारले सुरक्षित स्थानमा प्लाज्मा तथा रक्तदान दिनसक्ने व्यवस्था मिलाएकाले ब्लड बैंकमा प्लाज्मादान र रक्तदान गर्न जानेहरूका लागि कोभिड संक्रमणको धक नमान्नसमेत उनले आग्रह गरे ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कोरोनामुक्त भएर फर्किएका कोरोना संक्रमितको ब्लड ग्रुप र नम्बरसहित सबै कोभिड अस्पतालहरूले तयारी अवस्थामा राख्नुपर्ने बताए । ‘हामीले हाम्रो अस्पतालमा उपचार गराएर फर्किएकाहरुको नम्बर तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘अहिले दैनिक रुपमा प्लाज्माको आवश्यकता पर्न थालेको छ ।’ अस्पतातमा हुने सबै खालका संक्रमितको ब्लड ग्रुप र सम्पर्क नम्बरहरू हुने गरेको भएपनि होम आइसोलेसनमा रहेका संक्रमितका बारेमा भने तथ्यांक मन्त्रालयस्तरबाट दिनुपर्ने बताए ।
कोशी कोभिड अस्पतालका संयोजक बैजनाथ साहले अहिले प्लाज्माको माग भइरहँदा कस्ता प्रकारका संक्रमितलाई प्लाज्मा चाहिने
र कस्तालाई नचाहिने भन्नेबारेमा स्पष्ट हुनुपर्ने बताए । ‘पहिलो कुरा हामी आफैं कस्तोलाई चाहिने कस्तोलाई नचाहिने भन्नेमा अन्यौल छौं,’ उनले भने, ‘तर अहिले बजारमा प्लाज्माको डिमान्ड बढेको कुरा छ । त्यसलाई कसरी लिने ?’ धनकुटा जिल्ला अस्पतालका डाक्टर पुजन विश्वकर्माले प्रत्येक होम आइसोलेसनमा बसेकाहरूको तथ्यांक संकलन गर्न पालिकाहरूसँग समन्वय गर्ने र त्यसकै आधारमा प्लाज्मा
व्यवस्थापन गर्न सकिने बताए । जुनजुन अस्पतालमा पीसीआर ल्याब संचालनमा छन्‚ ती ल्याबहरूबाट तथ्यांक संकलन गर्नुपर्छ,’ डाक्टर विश्वकर्माले भने, ‘अरु तथ्यांकको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्नुपर्छ ।’
विराटनगर महानगरपालिकाका कोभिड फोकल हैदर अलीले महानगरपालिकाले प्लाज्मा खोज्ने एउटा समूह नै बनाएर प्लाज्मा खोज्ने काम गरेको बताए । दोश्रो चरणको कोभिड संक्रमित भएर निको भएकाहरूको सोधखोज गरेर प्लाज्मा व्यवस्थापन गर्ने काम गरिएको भएपनि मागअनुसार पुर्याउन गाह्रो भएको उनको भनाइ छ । उपचारपछि निको भएकाहरू पनि प्लाज्मा दिन तयार देखिएका छैनन् । एक अर्कोसँग समन्वय गरेर सबैलाई जोड्न सक्दा मात्र पनि धेरै हदसम्म समस्याको समाधान हुनसक्ने उनको तर्क छ ।
विराटनगर अस्पतालहरुको हब भएको, उपचारको लागि अउोको संख्या प्रदेश १ र २ भएकोले यहाँ धेरै रगत र प्लाज्माको अभाव देखिएको हुनसक्ने विज्ञहरु बताउँछन् । जनस्वास्थ्य प्रशासक सागर प्रसाईले अहिलेको आवश्यकता के हो भन्ने सबैले बुझ्न जरुरी रहेको बताए । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुखसमेत रहेका प्रसाईंले स्क्रीनिङ गर्नका लागि डेटा प्रशस्तै भएपनि त्यसको ब्लड ग्रुपको लिस्ट भने नभएको स्वीकार गरे । नागरिकसम्म जाँदा माग्दै जानुभन्दा रगत दिनुपर्यो भनेर जाँदा बुझ्ने भएकाले जनताको बुझाइसँग जोडिएर जानुपर्ने उनले सुनाए ।
डा संगिता राईले तथ्यांक सबै संकलन गरेर राखेकाले आवश्यक पर्दा त्यही तथ्यांकबाट काम गर्न सकिने बताइन् । प्लाज्माको हल्लामात्र धेरै भएको उनको बुझाइ छ । ‘शुरुमा नै प्लाज्मा चाहिने होइन,’ डाक्टर राईले भनिन्, ‘यो अन्तिम समयमा मात्र बचाउनका लागि प्रयोग गरिने विधि हो ।’
कोशी अस्पतालका डाक्टर चुमनलाल दासले आवश्यकता र आपूर्तिमा तालमेल नमिल्दा अभाव हुने बताए । दोस्रो लहरको कोरोनाबाट संक्रमित भएर निको भएका संक्रमितले तत्काल प्लाज्मा दिन नमिल्ने र त्यो संख्या थोरै भएकाले पनि प्लाज्माको अभाव देखिएको उनले बताए । ‘कोभिडका लागि कुनै पनि कुरा रामवाण होइन भन्ने कुरा बुझ्नुपर्छ,’ मेसु दासले भने, ‘अहिले प्रयोग भएको अन्तिम विकल्प भनेको मात्र प्लाज्मा हो, शुरुमा नै प्लाज्माको आवश्यकता हुँदैन ।’ अस्पतालमा भर्ना भएका बिरामी तनावमा हुने भएकाले उनीहरू कोरोनामुक्त भएर अस्पतालबाट निस्कनासाथ रगत दिनसक्ने अवस्थामा नहुने भएकाले धेरै होम आइसोलेसनमा भएकाहरूबाट रगत तथा प्लाज्माको प्रयोग गर्न सकिने दासले बताए । तर यसको व्यवस्थापनसम्बन्धी कामको नेतृत्व रेडक्रस सोसाइटीले लिनुपर्ने सहभागीको भनाइ छ ।
व्यवस्थापनमा समन्वय
समस्याको पहिचान गरेका स्वास्थ्य क्षेत्रका व्यक्तिहरूले समाधानको बाटो पनि निकालेका छन् । तत्काल देखिएका समस्यालाई समाधान गर्नका लागि प्लाज्मा थेरापीको बारेमा बुझाइ फरक परेको निष्कर्ष निकाल्दै प्राविधिक टोलीसहित बसेर सामाजिक विकास मन्त्रालयले तत्काल प्लाज्मा प्रोटोकल बनाउने जनाएको छ ।
नागरिकलाई प्लाज्मा भन्दा पनि रक्तदानको बारेमा बुझाएर जानुपर्ने र त्यसमा रगतका क्षेत्रमा काम गर्ने रेडक्रसको अगुवाईमा सामाजिक संस्थाले भूमिका खेल्ने र नागरिकसम्म पुग्नुपर्ने सहभागीहरूको राय थियो ।
प्लाज्मा थेरापीसम्बन्धी डेडिकेट टीम बनाएर तथ्य सूचना संयन्त्र निर्माणमा सामाजिक विकास मन्त्रालयको पिएचयुओसी, रेडक्रस र महानगरपालिका बसेर समन्वयको काम थाल्ने पनि उनीहरुले बताएका छन् । होम आइसोलेसनमा रहेकाहरूलाई प्राथमिकतामा राखेर रगत र प्लाज्माको खोजी गर्ने, रगतको व्यवस्थापनसम्बन्धी नेतृत्व रेडक्रस सोसाइटीले लिने र संघ संस्थासँग समन्वय गर्ने, नागरिकलाई रगत दिन जाँदा सुरक्षित छ भन्ने सुरक्षाको ग्यारेन्टी गरी यस खालको सूचना सबैमा पुर्याइने साझा धारणा बनेको जनाइएको छ ।









