राजनीतिक झगडामा नअल्झी तत्काल गम्भीर कदम चाल्न एम्नेस्टीकाे आग्रह

काठमाडौं । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले  नेपालका नेताहरुलाई  राजनीतिक झगडा र आन्तरिक कलहमा नअल्झिन आग्रह गरेकाे छ । ‘नेपालमा भारतकाे जस्तै चिन्ताजनक अवस्था देखापर्दैछ,’ एम्नेस्टी इन्टरनेसनलका एसिया प्यासिफिक निर्देशक यमिनी मिश्रले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालका राजनीतिज्ञहरूले राजनीतिक झगडा र आन्तरिक कलहमा अल्झिने समय होइन यो । अहिले यतिखेर देशमा चुलिँदो यो सङ्कटलाई संबोधन गर्नका लागि एकता र नेतृत्वको खाँचो छ ।’

एम्नेस्टीले भनेकाे छ– ‘भारतले अक्सिजनको निर्यातमा रोक लगाएपछि नेपालले अतिरिक्त आपूर्ती व्यवस्था मिलाउन सङ्घर्ष गरिरहेको छ । यस अवस्थालाई थप गम्भीर पार्नेगरी नेपालमा यतिखेर राजनीतिक उथलपुथल भइरहेको छ। प्रधानमन्त्रीले भर्खरै विश्वासको मत गुमाएका छन् र राजनीतिक दलहरूले अर्को सरकार गठन गर्न सकिरहेका छैनन् ।’

कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिरहेको दक्षिण एसियाली देशका सरकारले संक्रमण रोक्न तत्काल गम्भीर कदम चाल्न आवश्यक भएको एम्नेस्टी इन्टरनेशनलको भनाइ छ । ‘दक्षिण एसियाका सरकारले स्वास्थ्य सेवासम्बन्धी अभावलाई तत्काल सम्बोधन गर्नुपर्दछ,’ एम्नेस्टीले भनेको छ, ‘यस क्षेत्रमा कोभिड–१९ को तिब्र सङ्क्रमणविरुद्ध प्रतिकार्यका लागि अति शीघ्र स्वास्थ्य प्रणालीहरूलाई सुदृढ पार्नु पर्दछ ।’

भारत र नेपालको स्वास्थ्य प्रणाली नै असफल हुने विन्दुमा पुगेको र दक्षिण एसियाका अन्य देशमा भाइरसको पछिल्लो र घातक फैलावट रोक्न तयारीको कमी देखिएको भन्दै एम्नेस्टीले यस्तो आग्रह गरेको हो । दक्षिण एसियामा विद्यमान अत्यन्तै न्यून खोपको दरले यस क्षेत्रलाई अत्यन्तै जोखिममा पारेको भन्दै खोपमा समान पहुँच सुनिश्चित गर्न विश्वव्यापी रूपमा दबाबमूलक कार्यको खाँचो आवश्यक रहेको बताएकाे छ ।

‘भारत र नेपालमा जुन खालको मानव विपत्ति देखापरिरहेको छ यसले यस क्षेत्रका अन्य देशलाई सङ्कटकालीन प्रतिकार्यका उपायका लागि ठूलो लगानी गर्न एउटा चेतावनीको काम गरेको छ,’ निर्देशक मिश्रले भनिन्, ‘भाइरस डरलाग्दो गतिमा फैँलदै सीमानाहरू पार गरिरहेको छ र यसले यस क्षेत्रका सबैभन्दा सीमान्तकृत जनसङ्ख्यालाई सबैभन्दा बढी कठोर रूपमा आक्रमण गर्न जारी राख्नेछ ।’

यस क्षेत्रका दशमा एकजना भन्दा कमले मात्र खोप लगाएकाेले पनि जाेखिम बढेकाे उनकाे भनाइ छ ।

‘आगामी दिन र हप्ताहरूमा दक्षिण एसिया र विश्वका अन्य मुलुकका सरकारहरूले लिने निर्णयहरू कोभिड सङ्क्रमणमा भएको यो पछिल्लो वृद्धिबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि महत्त्वपूर्ण हुनेछन्,’ उनले भनिन् ।

एम्नेस्टीकाअनुसार विश्व जनसङ्ख्याको एक चौथाईको बसोवास भएको दक्षिण एसिया एकदम छिटो कोभिड–१९ महामारीको नयाँ वैश्विक केन्द्रविन्दु बनिरहेको छ । वैशाख २३ गते भारतमा एकै दिन चार लाख भन्दा बढी नयाँ सङ्क्रमित हुन पुगे र त्यस समय भारतमा जम्मा सङ्क्रमितको सङ्ख्या दुई करोड १५ लाख हुन पुगेको थियो। महामारीले भारतलाई तहसनहस पारिरहँदा दक्षिण एसियाका थुप्रै देशहरूमा पनि सङ्क्रमणमा तीब्र वृद्धि भइरहेको छ।

भारतसँग खुला सीमा जोडिएको नेपालमा सङ्क्रमणमा तीब्र वृद्धि हुन सुरू भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको आङ्कडाअनुसार दैनिक सङ्क्रमित केस ३०३ बाट ३० गुणा बढेर ९ हजार ३ सय १७ पुगेको छ । अर्थात चैत्र ३० देखि वैशाख २९ बीचमा यो २९ हजार ७ सय ५५ को वृद्धि हो । यही मङ्लगबार मात्र नेपालमा ९ हजार ३ सय १७ नयाँ केसहरू फेला पर्यो र कुल सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार १ सय ११ पुगेकाे छ ।

अक्सिजन, अस्पतालमा शय्याहरु, मानव संशाधन र अत्यावश्यक औषधीहरूको अभावले कसरी भारतको कम श्रोतसाधनमा चलिरहेको स्वास्थ्य सेवाका प्रतिकार्यहरूलाई नाजुक अवस्थामा पुर्याइदिएका छन् । गत वर्ष दोश्रो लहरको भाइरसको अनुभव गरेपछि पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्कामा पनि सङ्क्रमण तीब्र गतिमा बढिरहेको छ। नयाँ भारतीय प्रकारको कोरोना भाइरस श्रीलङ्का र बङ्गलादेशमा पनि देखा परिसकेको छ र अधिकारीहरूले सीमाना बन्द गर्नुका साथै भारतबाट यात्रीहरूलाई प्रवेशमा रोक लगाएका छन्।

स्वास्थ्य सुरक्षा र सम्बन्धित क्षमतालाई सुदृढ बनाऊ

सञ्चार माध्यममा आएका खबर र रिपाेर्टहरुका अनुसार पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र नेपालका अस्पतालहरूमा सघन उपचार कक्षहरू पूर्ण रूपमा भरिएका छन् वा क्षमताबाहिर पुग्ने अवस्थामा रहेका एम्नेस्टीले जनाएकाे छ। विश्व बैङ्ककोअनुसार दक्षिण एसियामा प्रत्येक एक लाखका लागि ०.६  वटा मात्र अस्पतालका शय्या छन् । जबकी उच्च आय भएका देशहरूमा प्रत्येक लाखका लागि पाँच शय्या छन्। उच्च गरिबी दर, कमजोर स्वास्थ्य पुर्वाधार, विपन्न सामाजिक आर्थिक अवस्था, अपर्याप्त सामाजिक सुरक्षा प्रणाली, पानी र सरसफाई सुबिधामा सीमित पहुँच र बसोवासका लागि सीमित ठाउँका कारण यस क्षेत्रका दशौँ लाख मानिसहरूको जीवन भाइरसको नयाँ लहरबाट जोखिममा रहेको छ।

‘यो रोगले यस क्षेत्रको पहिल्यैदेखि नाजुक अवस्थाको स्वास्थ्य सेवाको अवस्थालाई थप जटिल बनाइदिएको छ। यो बेला दक्षिण एसियाका सरकारहरूले पहिले भन्दा पनि अझ गम्भीर रूपमा बिरामीको भारलाई व्यवस्थापन गर्न, अत्यावश्यक सेवाहरू सुचारू राख्न र महामारीको सामाजिक र आर्थिक प्रभावलाई घटाउनका लागि आकस्मिक वृद्धि क्षमताको विकासका लागि संयन्त्र निर्माण गर्नुपर्दछ,’ यमिनी मिश्रले भनिन् ।

‘यसैगरी, सबैलाई समान स्वास्थ्य सेवा प्रदान गरेर राज्यहरूले उच्च जोखिममा रहेका दैनिक ज्यालादारीमा आश्रितहरू, बन्दीहरू, शरणार्थीहरू र आन्तरिक रूपमा विस्थापितलगायतका सीमान्तकृत र कमजोर समूहहरूको मानवअधिकारको संरक्षणमा ध्यान दिन जरुरी छ। स्वास्थ्य सुविधाहरू बिना कुनै भेदभाव सबैका लागि उपलब्ध, मूल्यसुलभ र पहुँचयोग्य भएको सुनिश्चित गर्न उनीहरूले प्रभावकारी कदमहरू चाल्नुपर्दछ,’ उनले थपिन् ।

खोपमा समान पहुँचका लागि अन्तर्राष्ट्रिय सहयोग

जनवरी अन्तिम तिरदेखि बंगलादेश, नेपाल र श्रीलंकालगायतका देशहरूले भारत र अन्य देशहरूबाट अनुदान स्वरूप र व्यापारिक सम्झौताको माध्यमबाट खोपहरू प्राप्त गर्न थाले। चालु सङ्कटका बीचमा भारतले घरेलु आवश्यकताहरूलाई प्राथमिकता दिनका लागि २४ मार्चमा खोपको निर्यातलाई अस्थायी रूपमा रोकेको छ। यसले दक्षिण एसिया क्षेत्रमा खोपको आपूर्तिमा गम्भीर कमी हुन पुगेको छ। दक्षिण एसियाभरी खोप दर एकदम कम रहेको छ । पाकिस्तानमा० .९ प्रतिशतले मात्र खोपको पहिलो डोज लगाएका छन्।

महामारीले दक्षिण एसिया क्षेत्रालाई तहसनहस बनाइरहेको सन्दर्भमा जीवन बचाउने चिकित्सा उपकरणहरू प्रदान गरेर र खोपको उत्पादन र आपूर्तिमा अवरोध पार्ने कानुनी अनिश्चितता र व्यवधानहरूलाई हटाएर ऐक्यबद्धता प्रदर्शन गर्न र आफ्नो मानवअधिकारप्रतिको दायित्व पूरा गर्न तथा आवश्यक सहयोग प्रदान गर्न एम्नेस्टी इन्टरनेसनलले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेकाे छ ।

प्रतिक्रिया