सरकारले अक्सिजनको आपूर्ति रोकेपछि बिरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था आयो : केएमसी अस्पताल

काठमाडौं । अस्पतालहरूले विभिन्न सप्लायर्सहरूसँग लिइरहेको अक्सिजन आपूर्ति बन्द गरी सरकारले तोकेअनुसारको कोटा प्रणालीबाट मात्र उपलब्ध गराउने निर्णय गरेपछि बिरामीको बिचल्ली हुने अवस्था आएको छ ।
अस्पतालले व्यवस्थापन गरेका अक्सिजन कम्पनीबाट भइरहेको आपूर्ति रोकिएको र कोटाबाट दिने भनिएको सिलिन्डर उपलब्ध नभएकाले बाध्य भएर बुधबार बेलुकाबाट बिरामीलाई घर पठाउनुपर्ने अवस्था आएको केएमसी अस्पताल सिनामंगलका चिफ म्यानेजमेन्ट कन्सल्ट्यान्ट डा. केपी शर्माले मकालु खबरलाई जानकारी दिए ।
‘हामीले ल्याइरहेको ठाउँमा सरकारले प्रहरी र सेना लगाएर अक्सिजनको आपूर्ति रोक्यो, हिजो दैनिक २५० सिलिन्डर अक्सिजन उपलब्ध गराउने भनेर पत्र लेख्यो तर आज एक सिलिन्डर पनि आएन’, शर्माले भने हामीसँग भएको सीमित स्टक सकियो, थप अक्सिजनका लागि जति ताकेता गर्दा पनि नपाएपछि बिरामीलाई कि त अक्सिजनको आपूर्ति आफैं गर्न कि त डिस्चार्ज गर्न बाध्य हुनुपर्यो ।’
यस्तो अवस्थामा बिरामी कहाँ जाने त ? भन्ने प्रश्नमा उनले भने‚ ‘स्थिति भयावह छ, मानवीयताको हिसाबले पनि कारुणिक अवस्था आइरहेको छ, तर अस्पतालले पनि गर्न सक्ने केही छैन, हामीले ल्याएको अक्सिजन प्लान्टले काम गरेन, ल्याइरहेको ठाउँमा सरकारले रोकिदियो, कोटाबाट दिने भनेको थियो तर एक सिलिन्डर पनि दिएको छैन‚ भनेपछि अब हामीले गर्न सक्ने अवस्था रहेन ।’










