निशुल्क कोभिड–१९ सेवा केन्द्र चलाउने पूर्वमन्त्री बस्नेतकाे घाेषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने भएकाे छ ।

जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही पालिकाका जनप्रतिनिधिसँग छलफल गरी एक महिनाभित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।

उनले भने, ‘सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुनेछ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिनेछ ।भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुनेछ । पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप) बाट सिन्धुपाल्चोकमा कोभिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्‍याउन दिने बताएका छन् ।

गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए । उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नुपर्दैन । एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिनेछ ।

कोभिड–१९ संक्रमित अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाए ।

प्रतिक्रिया