गैँडाकोटमा अक्सिजनसहित २० शय्याको आइसोलेसन तयार

काठमाडौं । गैँडाकोट नगरपालिकाले अक्सिजनसहितको २० शय्याको आइसोलेसन तयार पारेको छ ।
वडा नं ११ स्थित गैँडाकोट नगर अस्पतालसँगै रहेको कभर्ड हललाई नै आइसोलेसनका रूपमा तयार गरिएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।
आइसोलेसनका लागि तीन कोठा निर्माण गरिएको जनाउँदै पौडेलले एउटा कोठामा १६ बिरामी राख्न सकिने तथा बाँकी दुई कोठामा दुई/दुई बिरामी राख्न मिल्नेगरी आइसोलेसन तयार पारिएको बताए ।
दुई एमबिबीएस चिकित्सकसहित एचए र अनमी कार्यरत सो अस्पतालमा आइसोलेसन सञ्चालनपछि थप दुई स्टाफ नर्स नियुक्त गरिएको छ । त्यस्तै दुई अनमी छनोट प्रक्रियामा रहेका नगरप्रमुख पौडेलले बताए ।
नगरपालिका स्वास्थ्य शाखाबाट आवश्यक कपडा र औषधिको व्यवस्थापनपछि अक्सिजन, चिसो–तातो पानी, पानी तताउने भाँडा, बिजुली, इन्टरनेट, झुल, पङ्खासहित व्यवस्थापन गरिएको र आवश्यक थप सामग्री थप्दै लैजाने पौडेलको भनाइ छ ।
नगरभित्रका बिरामीलाई अक्सिजनको आवश्यकता परेमा चिकित्सकले राख्नुपर्ने भनेमा आइसोलेसनमा राखिनेछ । कोभिड सङ्क्रमणका कारण वडा नं ११ मा बुधबार बिहान एक व्यक्तिको मृत्यु भएपछि नगरपालिकाले तीव्र रूपमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को टोली र अस्पताल व्यवस्थापन समितिबीच गत बुधबार बैठक बसेर अक्सिजन सिलिन्डरसहितको आइसोलेसन बनाउने निर्णय भएसँगै सो कार्यलाई अघि बढाइएको थियो ।
यसअघि क्वारेन्टिन सञ्चालन गरिएको स्थानलाई नै थप व्यवस्थापनसहित आइसोलेसन तयार पारिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताए ।
अहिले पाँचवटा अक्सिजन सिलिन्डरसहित आइसोलेसन तयार पारिएको भए पनि आजबाट थप अक्सिजनको व्यवस्था हुने सुवेदीले बताए ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिफारिशमा आजै १० वटा अक्सिजन सिलिन्डर ल्याउने तयारी भइरहेको सुवेदीले बताए ।
अक्सिजनको आवश्यकता पर्ने कोरोना संक्रमितलाई आजैदेखि सो आइसोलेसनमा राखेर उपचार गर्न सक्नेगरी तयारी अवस्थामा राखिएको सुवेदीको भनाइ छ ।








