मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना‚ सेवामा ढिलाइ

काठमाडौं । कर्मचारीमा कोरोना देखिएपछि नेपाल मेडिकल काउन्सिलको सेवा ढिलाइ तथा बन्द हुने भएको छ ।

काउन्सिलका केही पदाधिकारीहरू तथा कर्मचारीहरूलाई परीक्षण गर्दा कोभिड पुष्टि भएपछि प्रदान गरिँदै आएको नियमित सेवामा ढिलाइ हुने काउन्सिलले बताएको छ ।

‘यस काउन्सिलका केही पदाधिकारीहरू तथा कर्मचारीहरूमा कोभिड टेस्ट पोजिटिभ देखिएको तथा नेपाल सरकारको निर्देशनअनुसार अब अधिकतम एक-चौथाई कर्मचारीबाट कार्यालय सञ्चालन गरिने योजना बनाइएको हुनाले नेपाल मेडिकल काउन्सिलले प्रदान गर्ने नियमित सेवामा ढिलाइ हुने व्यहोरा सबैका लागि सूचित गरिन्छ,’ काउन्सिलद्वारा आइतबार जारी सूचनामा भनिएको छ ।

सेवामा ढिलाइ भएपनि नेपाल सरकारले तोकेको अवधिसम्मका लागि काउन्टरमार्फत् उपलब्ध सेवाहरू भने अनलाइनबाट मात्र उपलब्ध गराइने काउन्सिलले जनाएको छ ।

यसका साथै व्यक्तिगत पहिचान तथा प्रमाणपत्र रुजु (भेरिफिकेसन) आवश्यक पर्ने अस्थायी, स्थायी तथा विशेषज्ञ दर्ता प्रमाणपत्र वितरण अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया