विराटनगरका अस्पतालमा भारतीयको भीड, संक्रमण देखिए पहिचान गोप्य

विराटनगर । भारतको मधेपुराका जागेश्वर मण्डल विराटगरको रानीमा रहेको विराटनगर आँखा अस्पतालको चौरमा भेटिए । बिहीबार दिउँसोको करिब १ बजे खाना खाँदै गरेको अवस्थामा भेटिएका उनी आफ्नी श्रीमतीसँग खाना खाँदै थिए ।

भारतको मधेपुराबाट बिहानै श्रीमतीको आँखा जँचाउन जोगवनी आइपुगेका थिए । उनी नेपालको अस्पताल आउन सीमा बोर्डर पार गरेर आउनुपर्छ । तर उनलाई सीमामा प्रवेश गर्न दिइएन ।

सीमा रानी नाकादेखि विराटनगर आँखा अस्पताल आउनका लागि करिब २ किलोमिटर भएपनि उनलाई सीमानाकाबाट नेपाल प्रवेश गर्नै नदिएपछि उनी त्यहीँ दशगजामा नै झण्डै २ घण्टा बसे । त्यहीबेला भारतबाट नेपाल प्रवेश गर्दै गरेका केही व्यक्तिहरू देखे र उनी पनि त्यही समूहसँगै नेपाल प्रवेश गर्न पाए । ‘सीमामा बसेका प्रहरीले नेपाल प्रवेश गर्न दिएनन्,’ उनले भने, ‘झण्डै २ घण्टा पर्खिएर पछि मात्र प्रवेश गर्न पाएँ ।’

जागेश्वरजस्तै चौरमा थुप्रैजना थिए । कोही झोला बोकेर हिँड्न लागेका भने कोही सुतिरहेका । ५ जनाको समूहमा आँखा अस्पतालको बाहिरको प्रतिक्षालयमा बसेको एउटा समूह भारतको सुपौल जिल्लाको चक्लबाट आएको थियो । उनीहरू पनि बिहान रेलबाट आएर आँखाको उपचार सकेर फर्किन लागेका थिए ।

त्यही समूहका रामप्रसाद यादवले आफूहरू उपचारकै लागि सुपौलबाट आएको बताए । ‘सीमा नाकामा समस्या रहेछ । हामीलाई प्रवैश नै गर्न दिएन,’ रामप्रसादले भने, ‘पुनः परीक्षणका लागि बोलाइएकाले निक्कै मेहनत गरेर आयौँ ।’ नेपाल प्रवेशका लागि रानी नाकामा आएर उपचारको पुर्जा देखाउँदा समेत प्रवेश गर्न नदिएको सोही समूहका विवेककुमार यादवले बताए ।

रानी नाकाबाट प्रवेश गर्न नदिएपछि उनीहरू झण्डै २ किलोमिटर पूर्वमा रहेको स्लामपुर नजिकैको खुल्ला बोर्डरबाट भागेर नेपाल आएको उनले सुनाए । ‘जोगवनीबाट त्यहाँसम्म पुग्न हामीलाई हिँडेर १ घण्टा लाग्यो,’ यादवले भने, मुख्य नाकाबाट पस्न नदिएपछि अर्को बाटो खोज्दै जाँदा त्यहाँ फेला पारेर आएका हौँ ।’ सुपौलबाट आएका शिवनारायण ऋषिदेव भने पहिला आएको बाटो नै फर्किने तयारीमा थिए । रानी नाकादेखि करीब १ घण्टा हिँडेर जुन बाटो आएका थियौँ‚ त्यही बाटो फर्किने उनीहरूको तयारी थियो ।

त्यो समूह कुरा गरेलगत्तै फर्किएका थिए भने सुपौलबाट सम्धीनीको आँखा जाँचका लागि आएका मोहम्मद सालकीले भने रुखमुनी सुतिरहेका थिए । उनलाई नेपाल प्रवेशमा असहज भएन रानी नाकाबाट सजिलै आउन पाए । मुख्य नाकाबाट त आउन पाएनन् तर नजिकैको चोर नाकाबाट आउन पाएको मोहम्मदले बताए । ‘हामीलाई सीमामा आएपछि कहाँ जाने किन जाने भनेर सोधियो,’ उनले भने, ‘उपचारका लागि हिँडेको भनेपछि छाडिदिए ।’

यो एउटा विराटनगर आँखा अस्पतालमा बिहीबार दिउँसो आँखा उपचार गर्न भारतबाट आएका केही प्रतिनिधि पात्रमात्र हुन् ।

विराटनगरका यस्ता धेरै अस्पताल छन्‚ जहाँ भारतीय बिरामीहरू नियमित उपचार गर्नका लागि बिनाचेकजाँच प्रवेश गर्छन् र उपचार गरेर फेरि उतै फर्किन्छन् । भारतीय बिरामीको भरमा विराटनगरको गोल्छा आँखा अस्पताल, तापडिया आँखा अस्पताल तथा विराट आँखा अस्पतालहरू चलेका छन् ।

यी अस्पतालमा नेपालीभन्दा बढी भारतीयको भीड लाग्ने गरेको छ । आँखा उपचारसँगै विराटनगरको नोबेल अस्पताल, विराट अस्पताल, गोल्डेन अस्पतालहरूमा भारतीय उपचारको लागि आउने गरेका छन् । पछिल्लो एक हप्तामा भारतमा उपचार हुन नसकेर नेपालमा ल्याइएका २ जना कोरोना संक्रमितको उपचारको क्रममा ज्यान गएको पाइएको छ ।

तर यो विषय भने गोप्य राखिएको छ । विराटनगर अस्पताल प्रालिमा भेन्टिलेटरमा उपचार गर्नका लागि आएका दुई जनाको मृत्यु भएको विषयलाई लुकाइएको अस्पताल श्रोतले जनाएको छ । भारतबाट उपचारका लागि आउनेहरूको नाम र ठेगानासमेत गोप्य राख्ने गरेको पाइएको छ । कोभिड संक्रमितहरू भारतीय नागरिक भएपनि उनीहरुको ठेगाना सप्तरी, सिराहा तथा तराईका कुनै जिल्लाको टिपाउने गरेको निजी अस्पतालका एक कर्मचारीले बताए ।

प्रतिक्रिया