निषेधाज्ञा अवधिभर डिजिटल कारोबारमा जोड दिन आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघले कोभिड–१९ को संक्रमण रोक्न डिजिटल कारोबारलाई बढावा दिन आम सेवाग्राहीलाई आह्वान गरेको छ । संक्रण नियन्त्रणका लागि सरकारले काठमाडौं उत्यकालगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेकोले डिजिटल कारोबारमा जोड दिन आग्रह गरेको हो ।
‘सम्भब भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्नुहुन अनुरोध गर्दछौं,’ संघले भनेको छ, ‘अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिनुहुन समस्त ग्राहकमा अनुरोध गर्दछौं ।’
संघले निषेधाज्ञाको अवधिमा पनि बैंकका शाखा तथा एटीएम बुथहरु खुला नै रहने भएकोले इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ सेवा लिएका सेवाग्राहीले पासवर्ड, कारोबार पिन बिर्सिए वा कुनै प्राविधिक समस्या आए बैंकमा फोन गरेर समस्या राख्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग बुधबार गरेको छलफलपछि बैंकले शाखा र एटीएम बुथ खुला राख्ने र डिजिटल कारोबारलाई जोड दिने निर्णय गरेको हो ।
संघले भनेको छ– ‘घरबाटै कारोबार गरौं, आफू र अरुलाई सुरक्षित राखौं ।’








